+
Search

ताजा अपडेट +

पपुलर +

असारदेखि नेपालमा पनि ई-पासपोर्ट

4KNationalDaily
२०७६ भाद्र १९, बिहीबार ०८:५७ बजे

काठमाडौं- परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाइका लागि प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयको राहदानी महाशाखाले ४५ दिन अवधि तोकेर गत साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ।  एक वर्षपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नवीकरण गर्न वा नयाँ लिन पनि ई–पासपोर्ट पद्धतिमै जानुपर्ने हुन्छ ।

राहदानी महाशाखाका निर्देशक एवं सूचना अधिकारी तीर्थराज अर्यालका अनुसार पासपोर्टभित्रै औंठाछाप, फोटो तथा व्यक्तिगत विवरणसहितको चिप्स राखिनेछ । अन्य कतिपय मुलुकमा भने आँखाको रेटिनाजस्ता जैविक पहिचानसहितको ‘चिप्स’ प्रयोग गर्ने गरेका छन्।

‘अहिले जारी भएको एमआरपीले फोटो रिड गर्न नसक्ने भएकाले व्यक्ति पहिचानमा झुक्किन सक्ने सम्भावना रहन्छ,’ अर्यालले भने, ‘ई–पासपोर्टको चिप्समा रहेको फोटोमार्फत मुहार पहिचान प्रविधि (फेसियल रिकोग्निसन टेक्नोलोजी) बाट विश्वसनीय तरिकाले व्यक्ति पहिचान गर्न सकिन्छ।’

‘बायोमेट्रिक’ राहदानीसमेत भनिने ई–पासपोर्ट अमेरिका, बेलायतसहित विश्वका करिब एक सय मुलुकमा प्रयोगमा आइसकेको छ।

दक्षिण एसियामा भने भारत, बंगलादेशपछि नेपालले प्रक्रिया अघि बढाएको हो । नेपालमा ०६७ पुसबाट सुरु भएको एमआरपी पद्धतिमा अहिलेसम्म झन्डै ६० लाख पासपोर्ट वितरण भइसकेको खबर आजको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन्।

एमआरपी योजनामा छापिएका बाँकी १० लाख प्रति मात्रै ई–पासपोर्ट आउनुअघि वितरण (नयाँ वा नवीकरण) गरिसक्ने लक्ष्य राखिएको छ ।

महाशाखाका निर्देशक राजेन्द्र पाण्डेका अनुसार भविष्यमा सरकारले राष्ट्रिय परिचयपत्रको ‘लिंक’ लाई ई–पासपोर्टमा जोडेर व्यक्ति पहिचान तथा विवरण प्रयोगमा सहजीकरण गर्न सक्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily