काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिटो जनअपेक्षा अनुसार ‘एक्सन’मा नगएर अर्को कसैले ‘रिएक्सन’ गर्ने बताएका छन्। त्यसो भयो भने राष्ट्रका लागि धेरै चर्को र जनताका लागि महंगो पर्ने चेतावनी पनि दिएका छन्।
बिहीबारबाट काठमाडौंमा सुरु भएको दलित सम्बन्धी राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै प्रचण्डले जनताको विश्वास जित्नुको विकल्प नरहेको बताए।
‘एक्सनभन्दा अब अरु कुनै तरिकाद्वारा जनताको विश्वास जित्न सम्भव छैन। हामीले छिटोभन्दा छिटो आफ्नो काम कारबाहीद्वारा जनतालाई समृद्धि, विकास र संविधान कार्यान्वयन सम्भव छ र यो संविधानले हामीलाई नयाँ युगतिर लाँदैछ भनेर विश्वास दिलाउनुको कुनै विकल्प छैन’, प्रचण्डले भने, ‘व्यवहारद्वारा मात्रै देखाउन सकिन्छ।’
प्रचण्डले सतर्कता कायम नराखे प्रतिगमन या प्रतिक्रान्तिको खतरा रहिराख्ने पनि बताए। ‘तर, तुरुन्तै प्रतिक्रान्तिको खतरा आई नै सक्यो, संविधान कार्यान्वयनको सम्भावना सकिइसक्यो भन्ने मेरो अर्थ होइन’, उनले भने।
उनले परिवर्तनका लागि लड्ने शक्तिहरु मूलभूत रुपमा एक ठाउँमै रहेको र परिवर्तनको कार्यान्वयन र चुनौती सामना गर्ने जिम्मेवारीबोधमा पनि एक ठाउँमा रहेको बताउँदै केही तत्वहरुले अराजकता, अन्यौल र भ्रम सिर्जना गर्न खोज्दैमा अहिले नै खतरा नआउने बताए।
‘तर, सतर्कता छाड्यौं र सबै चिज ठीकठाक छ भने जसरी बस्यौं भने भित्रभित्रै प्रतिक्रान्तिले शक्ति सञ्चय गर्ने र अन्ततः हामीले हेर्दाहेर्दै देशले झन् ठूलो दुःख पाउने खतरा रहन्छ’, प्रचण्डले भने।
प्रचण्डले आफूहरु युद्धमा हुँदा दलितहरु मुक्त भएको अनुभूति हुने गरेको स्मरण गरे। ‘त्यतिबेला हामीले दलितहरुलाई सम्पूर्ण रुपले अधिकार सम्पन्न तुल्याउने कुरा गर्थ्यौं। र, हामीले सत्ता बनायौं भने सत्ताको प्रमुख दलितलाई बनाउँदा बडो गर्वको अनुभूति हुन्थ्यो। दलितले हातमा बन्दुक लिएर सेनाको रुपमा अगाडि बढ्दा आफू समाजको सम्मानित नागरिक भएको महसुस गरेको हामीले नजिकबाट हेर्यौं’, उनले भने।
युद्धका बेला प्रेम, विवाह, यौन सम्बन्धी मुद्दा र मामिलाहरु सबैको अर्कै परिभाषा बनेको तर अहिले सोच्न पनि बडो अप्ठ्यारो जस्तो हुने गरेको उनले दुखेसो गरे।
‘शान्ति र सहमतिमा आइसकेपछि र संविधानमा धेरै कुरा राम्रा लेखेर पनि व्यवहारमा मैले हेर्दा के देखें भने त्यतिबेलामा मान्यताहरु स्खलित हुन थाले’, उनले भने, ‘धेरैजसो प्रेम विवाहहरु या त औपचारिक ढंगले डिभोर्स भए, या त त्यतिकै लथालिंग भएर स्खलित हुन पुगे।’
प्रतिक्रिया