+
Search

ताजा अपडेट +

पपुलर +

फिफा विश्वकप छनोट खेलमा कुवेतसँग नेपालको लज्जास्पद हार

4KNationalDaily
२०७६ भाद्र २०, शुक्रबार १०:५५ बजे

काठमाडौं- सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रबीचको दोस्रो चरणको छनोट खेलमा नेपालले कुवेतसँग लज्जास्पद हार खेपेको छ ।

कुवेतको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भयो । पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल खाएको थियो । नेपालले सुरुवाती १३ मिनेटमै दुई गोल खाएको थियो ।

कुवेतका लागि छैटौं मिनेटमा युसुफ नासेरले सुरुवाती गोल गरे । १३औं मिनेटमा अल हाजेरीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । हाजेरीले कर्नरबाट सोझै गोल गरेका थिए ।

दोस्रो हाफमा थप आक्रामक देखिएको कुवेतले ५१औं मिनेटमा तेस्रो गोल गरेको थियो । युसुफ नासेरले हेड गोल गरे ।

अब्दुल्लाह माविले ५९औं मिनेटमा चौथो गोल गरेका थिए । ६८औं मिनेटमा कप्तान बादर अल मुत्वाले पाँचौं गोल थपे । कुवेतले बाँकी दुई गोल अन्तिम इन्जुरी समयमा थपेको थियो ।

इन्जुरी समयमा रेडा हानी र हुसेन अल मुसावीले गोल गरेका थिए । खेलभर नेपालको पोस्ट नजिक बल खेलाएको कुवेतका अन्य प्रयासमा नेपालका गोलरक्षक किरण चेम्जोङले बचाए ।

किरण बाहेक नेपालका अन्य खेलाडीको प्रदर्शन निकै फितलो बनेको थियो ।

समूह ‘बी’ मा फराकिलो पहिलो जितसँगै कुवेत शीर्षस्थानमा छ । समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेईलाई २–१ गोलले पराजित गरेको छ ।

पाँच टोली सम्मिलित समूह ‘बी’ मा नेपाल, कुवेत, अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डन रहेका छन् । छनोट खेलहरु होम एन्ड अवेका आधारमा खेलिने छ ।

नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेईसँग उसैको मैदानमा खेल्नेछ । मंगलबारनै अर्को खेलमा कुवेत र अष्ट्रेलिया भिड्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily