+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीको स्वस्थ्य अवस्था सामान्य, निजी चिकित्सक भन्छिन्ः नियमित काम गर्न सक्नुहुन्छ

4KNationalDaily
२०७६ भाद्र २०, शुक्रबार १६:५७ बजे

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या शाहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएकी हुन्।

प्रधानमन्त्री ओली सिंगपुरमा १४ दिनको उपचारपश्चात शुक्रबार मध्यान्ह स्वदेश फर्किएका हुन्। विमानस्थलमै पत्रकार सम्मेलन गरेर उपचार र स्वास्थ्य अवस्था बारे जानकारी दिने बताइए पनि प्रधानमन्त्री ओलीले विमानस्थलमा कुनै प्रतिक्रिया दिएनन्।

प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयुएचमा पूरा भएको बताइएको छ।

प्रधानमन्त्री स्वदेश फर्किएपछि निजी चिकित्सक शाहले विज्ञप्ति जारी गर्दै अवस्था सामान्य रहेको र नियमित कामकाज गर्न सक्ने जानकारी दिएकी हुन्।

‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ’, डा. शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो ।

प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा शाह भने यसअघि नै फर्किसकेका छन्।

उपचारकै क्रममा प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक चलाएका थिए।

प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकार सम्मेलन गरेनन् भने उनको स्वास्थ्य अवस्थाको बारेमा पनि कुनै जानकारी दिइएन्।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्नका लागि सबैजसो मन्त्रीहरु विमानस्थल पुगेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily