काठमाडौं- विश्वकप छनोट प्रतियोगिताअन्तर्गत चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल २–० गोलले विजयी भएको छ ।
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो ।
नेपालका लागि खेल सुरु भएको तीन मिनेटमै अञ्जन विष्टले गोल गर्दै अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा अन्जन विष्टले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २(० को अग्रता दिलाएका हुन् ।
ताइपेईविरुद्धको खेलका लागि नेपाली प्रशिक्षक योहान कलिनले एक जना मात्र फरवार्ड राखेका थिए । फरवार्डमा विमल घर्ती मगर मात्र रहेका थिए ।
कुवेतविरुद्धको खेलमा जस्तै ताइपेईविरुद्ध पनि कलिनले पाँच जना मिडफिल्डर उतारेका थिए ।
मिडफिल्डरमा विशाल राई, सुजल श्रेष्ठ, रविशंकर पासवान, अञ्जन विष्ट र रोहित चन्द थिए । त्यस्तै डिफेन्समा अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र रञ्जित धिमाल थिए ।
प्रतिक्रिया