+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानसेनापति पूर्णचन्द्र थापासँग ५५ तोला त सुन मात्रै, कति छ उनको सम्पत्ति?

4KNationalDaily
२०७६ भाद्र २५, बुधबार ०८:५७ बजे

काठमाडौं- नेपाली सेनाको इतिहासमा पहिलोपटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक भएको छ।

नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका खबर आजको नागरिक दैनिकमा बसन्त खड्काले लेखेका छन्।

सेनाको वेबसाइटमार्फत सार्वजनिक सम्पत्ति विवरण अनुसार उनको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ। सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो।

थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, श्रीमती दीपाको नाममा कामनपा–२६ मा दुई आना माइतीबाट प्राप्त र थापा दम्पतीको नाममा कामनपा–५ मा चार रोपनी ११ आना जग्गा छ।

त्यसैगरी थापाको सम्पत्ति विवराणमा ५५ तोला सुन, ५९० तोला चाँदी र एउटा १० लाख बराबरको हार रहेको उल्लेख छ।

थापा दम्पतीको नाममा नवलपरासीको कोल्हुवा–५ मा १२ कट्ठा छ धुर तथा छोरी रुरुको नाममा लमजुङको बेँसीशहरमा एक रोपनी जग्गा छ।

यस्तै प्रधानसेनापति थापाको नेपाल इन्भेष्टमेन्ट बैंकमा १६ लाख ६१ हजार, सोही बैंकमा पाँच हजार नौ सय अमेरिकी डलर, ग्लोबल आइएमई बैंकमा ४२ हजार र श्रीमतीको नाममा मेघा बैंकमा ५० हजार रुपैयाँ नगद छ।

श्रीमतीको नाममा मेघा बैंकको २४ हजार कित्ता प्रमोटर र नौ हजार साधारण शेयर छ भने डिसिबिएल बैंक र ग्लोबल बैंकमा ७० र शिवश्री हाइड्रोपावरमा १० हजार कित्ता शेयर रहेको उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily