काठमाडौं- ३० वैशाखमा धरानमा देखिएको डेंगु करिब चार महिनामा ५६ जिल्लामा फैलिएर महामारीको रूप लिएपछि सरकारले नियन्त्रणका लागि ‘महाअभियान’ चलाउने भएको छ।
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थी र स्वयंसेवकलाई डेंगु प्रभावित क्षेत्रका घरघरमा खटाएर नियन्त्रण गर्ने तयारीमा सरकार जुटेको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
मंगलबार साँझ सम्बन्धित सबै निकायका अधिकारीलाई सरकारी कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले महाअभियानको तयारीबारे छलफल गरेका छन् ।
देश संघीयतामा गएसँगै प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारभित्र परे पनि प्रभावकारी काम गर्न नसकेपछि डेंगु महामारी रोक्न संघीय सरकार नै सक्रिय हुन लागेको हो ।
‘सरकारले खटाउने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक र विद्यार्थी घर–घरमा पुग्नेछन् । भुइँदेखि छतसम्म निरीक्षण गर्छन् । जमेको पानी र फोहोर हटाउनेछन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक लालले भने, ‘टोलीले हरेक घरका सदस्यलाई डेंगुबाट बच्न परामर्श दिनेछ ।’
नेतादेखि डाक्टरसम्मलाई डेंगु
एमाले नेता वामदेव गौतम, कृषिमन्त्री चक्रपाणि खनाल र वरिष्ठ आँखा रोग विशेषज्ञ डा। सन्दुक रुइतलाई डेंगु भएको छ ।
त्यस्तै, शुक्रराज अस्पतालका लालबहादुर वैबा, शारदा दाहाल, रवीन्द्र अर्याल र डा. असीम कँडेल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत फिरोज महर्जन, लक्ष्मी अधिकारी र सीताराम भण्डारीलाई पनि डेंगु संक्रमण भएको छ ।
टेकुमा मात्रै १३ स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको अस्पतालले जनाएको छ ।
सरकारले डेंगु रोग नियन्त्रणका लागि यस वर्ष सात करोड ९३ लाख विनियोजन गरेको छ ।
डेंगुको डरले ‘लामखुट्टे फोबिया’
डेंगुबारे जानकारी कम हुँदा सर्वसाधारणलाई ‘लामखुट्टे फोबिया’ हुन थालेको छ । जुनकुनै लामखुट्टेले टोक्दा पनि डेंगु हुने डरले सताएको छ ।
कैयौँ व्यक्ति आत्तिँदै अस्पताल पुग्ने गरेका छन् । टेकुस्थित सरुवा रोग अस्पतालका चिकित्सक डा.शेरबहादुर पुनले आफूकहाँ आइपुगेको एक प्रतिनिधि घटनाबारे भने, ‘बालाजुकी एक महिला साथीका दुई बच्चालाई डेंगु लागेको थाहा पाएपछि भेट्न गइन् । घर फर्किंदा उनलाई एउटा लामखुट्टेले दाहिने खुट्टामा टोकेछ । लामखुट्टे मारिन् । तर, त्यसलगत्तै ती महिलाको खुट्टा झमझमाउन र दाहिने कम्मर दुख्न थाल्यो । डेंगु पो लाग्यो कि भनेर उनी आत्तिँदै टेकु अस्पताल आइपुगिन् । लामखुट्टे फोबियाले सताएर उनी यो अवस्थासम्म पुगिन्।’
प्रतिक्रिया