काठमाडाैं- झण्डै १५ महिनादेखि बन्द रहेको मलेशियाको रोजगारी खुलेको छ । अब रोजगारीका लागि मलेशिया जान नयाँ कामदारलाई बाटो खुल्ला भएको छ ।
नेपाल र मलेसियाको श्रम मन्त्रालयस्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो । यो सँगै लामो समयदेखि मलेशिया जानका लागि लाइनमा रहेका र जान चाहनेहरुका लागि प्रक्रिया खुल्ला हुने भएको छ ।
नेपाल सरकारले छनोट गरी सूचीकृत गरेका नयाँ १ सय २२ वटा स्वास्थ्य संस्थामाथि थप अनुगमनका लागि मलेसियाली टोली आउने भएको छ।
सो टोलीको अनुगमनपछि विस्तारै ती स्वास्थ्य संस्थालाई पनि थप गर्दै लगिने बताइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्णय अनुसार ०७५ जेठ २ गते औपचारिक रुपमा मलेसिया रोजगारी बन्द भएको थियो।
रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अत्याधिक आर्थिक भार परेको भन्दै मन्त्री विष्टले मलेसिया रोजगारी बन्द भएको घोषणा गरेका थिए।
त्यसयता नयाँ श्रम स्वीकृति लिएर नेपाली कामदार रोजगारीका लागि मलेसिया जान पाएका थिएनन्।
एमओयूमा के छ ?
नेपाल र मलेसियाबीच भएको समझदारीअनुसार मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, प्रवेशाज्ञा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत खर्च रोजगारदाताले नै व्यहोर्ने छन् ।
विगतमा नेपाली कामदारसँग लिइँदै आएको अतिरिक्त शुल्क समझदारीपछि नलाग्ने व्यवस्था गरिएको छ ।
मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकटम् सदस्य (बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लािग स्वदेश आउन पाउने प्रावधान समावेश गरिएको छ ।
कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानूनले कामदारको सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारका हकमा समेत लागू हुनेछ ।
वैदेशिक रोजगारीका क्रममा कामदारको अङ्गभङ्ग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूतावासलाई जानकारी गराउनु पर्ने व्यवस्था गरिएको छ ।
कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ ।
नेपाली कामदारलाई मलेसियाको श्रम कानूनबमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइए सरहको संरक्षण मलेसिया सरकारले प्रदान गर्ने एमओयूमा उल्लेख छ ।
नयाँ एमओयूले कामदारको करार अवधि दुई वर्ष तोकेको छ । यसअघि कामदारको करार अवधि तीन वर्ष थियो ।
कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ तारिखभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मलेसिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिक भन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने सुनिश्चित हुनुका साथै अतिरिक्त समयमा काम गरे बापत थप पारिश्रमिक एवं सेवा–सुविधा प्राप्त हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया