काठमाडौं- अब भूकम्पपीडितले कात्तिक मसान्तभित्र घर नबनाए अनुदान नपाउने भएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माणकार्य शुरु नगरे अनुदान नदिइने बताएका हुन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, भक्तपुरले आयोजना गरेको निजी आवास पुनःनिर्माण कार्यक्रम सम्बन्धी गोष्ठीमा उनले कात्तिक मसान्तभित्र घरको जग पनि नहाल्ने लाभग्राहीले अनुदानको रकम नपाउने दोहोयाए ।
तेस्रो किस्ता आगामी माघ मसान्तसम्म लिइसक्नुपर्ने गरी घर निर्माण शुरु गर्न आग्रह गर्दै उनले गाउँ–गाउँमा रहेका इञ्जिनीयरलाई गाउँ नछाड्न निर्देशन दिए ।
उनले भने– ‘विभिन्न परीक्षा र अन्य बहानामा कोही पनि इञ्जिनीयरले गाउँ नछाड्नुस्, काम गर्न मन नलागे बिदा लिनु्स्, तर गाउँ नछाड्नु्, गाउँ छाड्ने र प्रभावकारी रुपमा काम नगर्ने इञ्जिनीयरलाई अब बिदाइ गरिन्छ ।’
उनले वडादेखि नगरपालिकासम्मका प्रमुखलाई दैनिक काममा नजाने इञ्जिनीयरलाई हाजिर नगराउन आग्रह गरे ।
उनले स्थानीय जनप्रतिनिधि र इञ्जिनीयरले एकै पटक परिचालन हुँदै आ–आफ्नो क्षेत्रमा कहिलेसम्म पुनःनिर्माणको काम सम्पन्न गराउने भन्नेबारेमा लक्ष्य निर्धारण गर्दै योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया