+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डको प्रष्टीकरण : इन्डो-प्यासेफिकबारे राष्ट्रको घोषित नीतिअनुसारै बोलेको हुँ [सम्बोधनको पूर्णपाठ]

4KNationalDaily
२०७६ भाद्र २८, शनिबार १८:५९ बजे

इलाम-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले इन्डो-प्यासेफिक रणनीतिबारे नेपालको नीति अनुसारै बोलेको बताएका छन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा तथाकथित इन्डो -प्यासेफिक रणनीतिलाई नेपालले अस्वीकार गर्छ भन्ने अभिव्यक्ति दिएपछि प्रचण्ड विवादमा तानिएका छन्।

‘चाहे त्यो बिम्स्टेकको सन्दर्भको होस्, चाहे त्यो इन्डो प्यासिफिकको सैन्य अभ्यासमा किन नहोस्, हाम्रो राष्ट्रहितलाई असर गर्ने कुनै पनि गठबन्धनमा हामी सहभागी हुँदैनौं,’ आफूले विदेशमन्त्री वाङसँग राखेको कुराबारे शनिबार इलाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मैले, प्रधानमन्त्रीजी र परराष्ट्रमन्त्रीले भनेको त्यही हो। मैले नेपाल राष्ट्रको घोषित नीति अनुरुप भनेको हो।’

प्रचण्डले अभिव्यक्ति चिनियाँ विदेश मन्त्रालयको ‘प्रेस नोट’बाट सार्वजनिक भएपछि अमेरिकाले यसप्रति चासो राख्दै नेपाल सरकारको धारणा माग गरेको छ। त्यही सन्दर्भमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले बिहीबार परराष्ट्र सचिव शंकरदास बैरागीसँग छलफल गरेका थिए।

नेपालको विदेश नीति प्रष्ट रहेको भन्दै उनले कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सामेल नहुने बताए। ‘हाम्रो विदेश नीति प्रष्ट छ,’ उनको भनाइ छ, ‘असंलग्न र स्वतन्त्र विदेश नीतिको मान्यताबाट नेपाल विचलित छैन। हामी कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं। हामी असंलग्न रहन्छौं।’

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले इण्डो प्यासेफिकबारे आफ्नो अभिव्यक्तिको सन्र्दभमा चीन र अमेरिकाबाट आधिकारिक भनाई सार्वजनिक नभएको दाबी गरे ।

‘ इण्डो प्यासेफिकबारे मसंग भएको कुरा चीनको परराष्ट्र मन्त्रालयबाट स्टेटमेन्टका रुपमा आएको होइन । कुनै समाचार एजेन्सीको समाचार बनाउने क्रममा आएको हो ।

यसवारेमा अमेरिकाको राजदूत या स्टेट डिपार्टमेन्टले मागेको पनि होइन । त्यहाँ काम गर्ने एकजना कर्मचारीले बाहिर भनेको मात्रै हो । आधिकारिक रुपमा न चीनले न अमेरिकाले भनेको स्थिति हो ।’ प्रचण्डले भने ।

प्रचण्डको सम्बोधनको पूर्ण अंश

विदेश नीतिका बारेमा

हाम्रो विदेश नीति प्रष्ट छ । असंलग्न र स्वतन्त्र विदेश नीतिको मान्यताबाट नेपाल विचलित छैन । हामी कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । हामी असंलग्न रहन्छौं ।

पहिलो बुझ्नु जरुरी छ । यसै सन्दर्भममा चाहे त्यो विमस्ष्टेक सन्दर्भको हो, चाहे त्यो इण्डो प्यासिफिकको सैन्य अभ्यासमा किन नहोस हाम्रो राष्ट्रलाई असर गर्ने कुनै पनि गठबन्धनमा हामी सहभागी हुँदैनौं । मैले प्रधानमन्त्रीजी र परराष्ट्र मन्त्रीले भनेको त्यही हो ।

हाम्रो चीनका बारेमा एक चीन नीति छ । हामी चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न दिन्नौं र दिँदैनौं भन्ने पनि हाम्रो प्रष्ट नीति हो । यही कुरा मैले गरेको हो ।

इण्डो प्यासिफिकका सन्दर्भमा पनि चीनका विरुद्ध हुने कुनै गतिविधि सह्य छैन भनिएको हो ।प्रचार जसरी आयो, चीनबाट आधिकारिक परराष्ट्र मन्त्रालयबाट स्टेटमेन्टका रुपमा आएको होइन । कुनै समाचार एजेन्सीको समाचार बनाउने क्रममा आएको हो ।त्यसमा सरकार, परराष्ट्रका रुपमा वक्तव्य आएको होइन ।

अर्को कुरा अमेरिकाको राजदूत या स्टेट डिपार्टमेन्टले मागेको पनि होइन । त्यहाँ काम गर्ने एकजना कर्मचारीले बाहिर भनेको मात्रै हो । आधिकारिक रुपमा न चीनले न अमेरिकाले भनेको स्थिति हो ।

मैले नेपाल राष्ट्रको घोषित नीति अनुरुप भनेको हो । कतिपयले हरेकपटक यस्तै हुन्छ भनेर भन्न खोजेको पाइयो । क्युबा, भेनेजुएला आदिका सन्दर्भममा अमेरिकाप्रति नकारात्मक धारणा बनाउन खोजेको भन्ने प्रचार पनि सत्य होइन ।

भेनेजुएलाका बारेमा मैले भनिसकेको छु र परराष्ट्रले पनि भेनेजुएलाको बारेमा त्यहीका जनताले निर्णय गर्ने हो, बाहिरबाट कुनै हस्तक्षेप हुनुहुँदैन भन्ने कुरा पराष्ट्रले भनिसकेको हो ।

जहाँसम्म क्यूबाको कुरा हो, क्यूबाको पक्षमा त पुरै संसार छ । संयुक्त राष्ट्रसंघबाट नाकाबन्दीविरुद्ध प्रस्ताव पारित छ । नाकाबन्दीविरुद्ध छ ।

क्यूबालाई सहयोग र ऐक्यबद्धता जनाउन उनीहरुको टोली नेपाल आएको थियो । चेको छोरी नै आउनु भएको थियो । त्यो कार्यक्रममा मैले सुरक्षा परिषदको निर्णय कार्यान्वयन हुनुपर्यो, हामी त्यो मामिलामा क्युबाको पक्षमा छौं भनेको हो ।

तर अमेरिकालाई उत्तेजित पार्ने हाम्रो कुनै योजना छैन । अमेरिकासँग पनि कुटनीतिक सम्बन्ध छ । कैयन पक्षमा हाम्रो द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने काम भएको छ ।

म अमेरिका भ्रमणका बेला समेत यस विषयमा अमेरिकी अधिकारीसँग कुरा गरेको छु । विदेश नीतिका बारेमा मैले नेपालको परराष्ट्र नीति नै बोलेको छु । यसमा स्प्ष्ट हुनुपर्छ ।

पार्टी एकताका बारेमा

पार्टी एकताको विषय धेरै टुंगिएको छ । केही पक्ष बाँकी छ । यो पनि सजिलै टुंगिन्छ ।

माधवजीसँग प्रधानमन्त्रीजीसँगको सम्बन्ध अलि बिग्रियो कि भन्ने छ, अहिले त्यस्तो छैन । सचिवालयको बैठकमा निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने विषयमा सर्वसम्मतले निर्णय भयो ।

अब फेरी माधवजीले भनेजस्तो केपीजी र मेरोबीच ठूलो कुरा होइन भनेजस्तो अहिले बैठकपछि सम्बन्ध सहज छ ।

यतिबेला पार्टीको जोड गुटहरु भत्काउनेमा छ । पार्टीलाई बलियो बनाउनुपर्छ भन्नेमा हामी केन्द्रीत छौ । अब हाम्रा छलफल त्यसरी नै जान्छन् ।

सरकारको बारेमा

छिमेकीसँग जे जस्ता सम्झौता भएका छन् त्यसले नेपालको हैसियत माथि उठाएको छ । ल्याण्ड लक्डबाट ल्याण्ड लिंकमा पुगेको छ । यो दूरगामी महत्वको छ ।

आर्थिक विकासको हेर्दा हामी ७ प्रतिशतभन्दा माथिको बृद्धिदरमा गएका छौं । हामी सारै बर्बाद हुन लाग्यो भनेर प्रचार गर्नु जायज छैन ।

पूर्वाधार विकासमा गाउँदेखि संघीय सरकारले योजना बनाएर जाने प्रक्रिया शुरु भएको छ । सरकारको करिव दुई वर्षको अवधिभित्र धेरै राम्रो परिणाम आउँछ भन्ने विश्वास छ ।

जनताको अपेक्षा अनुरुप हुन नसकेको सत्य हो ।

पार्टीले जसरी जनताले स्पष्ट पार्न अभियानको रुपमा जानुपर्ने, पार्टीले सरकारलाई निर्देशित गर्ने अवस्था नभएको, आन्तरिक कुरामा धेरै जेलिएकोले जे कमी भएको छ, त्यसमा सुधार गर्ने र जनतामा जाने साथै विकासलाई गति दिने दिशामा हामी केन्द्रीत छौं ।

अब यो सरकारले नयाँ गति लिएर जान्छ ।

गणतन्त्र खतरामा

संघीय लोकतान्त्रिक गणतन्त्रमा खतरा अलि बढी नै भयो भन्ने चाहिँ होइन ।

प्रतिगामीहरुले होहल्ला गर्दैमा सार्वभौम जनताले बनाएको सबैभन्दा बढी मौलिक अधिकार भएको संविधान कसैले कमजोर गरेर कमजोर हुने स्थिति छैन । यो सिष्टम नै उल्टिने खतरा आयो भन्ने पनि होइन ।

तर हिजोका निरंकुशतावादी, अलि होहल्ला गर्न खोज्ने, एयरपोर्टमा गएर राजतन्त्रको पक्षमा नारा लगाउने, गणतन्त्रको विरुद्ध नारा लगाउने मान्छेहरु निक्लेर नेताहरुलाई सत्तोसराप गरेर गाली गर्ने प्रवृत्तिलाई गम्भीररुपमा लिनुपर्छ ।

यस्ता गतिविधि अहिलेको समृद्धिको यात्राका बाधक तत्वलाई जनतालाई सचेत पार्नुपर्छ ।

तर यसबाट अहिले नै संवैधानिक समस्या पर्यो भन्ने सत्य होइन ।प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भयो, सबैले यो संविधान र गणतन्त्रप्रति संकल्प र प्रतिबद्धता व्यक्त गरे ।

कार्यदिशा र जिम्मेवारी बाँडफाँड

पार्टीमा कोही पनि जबज र एक्काइसौं शताब्दीको बिरोधी छैनौं । आउँदो महाधिवेशनका यसलाई परिमार्जन गर्ने भनेका छौं । त्यो नहुँदा सम्म समाजावादोन्मुख जनताको जनवाद भनेका छौं ।

बीचमा त्यस्तो देखिन खोजे जस्तो देखिएपनि अहिले हामी एउटै भाषा र प्रतिबद्धतामा छौं ।

सरकारको कुरा गर्दा पार्टी र नेतृत्वबीचको सहमति हुने कुरा हो । पार्टी एकताको सन्दर्भमाम केही सहमति भएका हुन तर आजको अवस्था हेर्दा सरकारलाई कहिं कतै कमजोर बनाउन दिन खोजेका छैनौं ।

पार्टी एकता राम्रोसँग हुनुपर्यो र सरकार प्रभाकारी भयो भने पाँच वर्ष नै यो सरकार जाँदा समस्या हुन्न भनेर मैले धेरैपटक भनेको छु ।

जनताको चाहना सरकारले राम्रा काम छिटो गरोस भन्ने छ । पार्टी एकता छिटो होस भन्ने कुरा कार्यकर्ताले भनेका छन् । हाम्रा लागि यो पदको कुरा ठूलो होइन ।

चुनावपछि सरकार कमरेड केपी ओलीकै नेतृत्वमा हुन्छ भनेर मैले भनेको हो । चुनावपछि मलाई पुरै अवधिको प्रधानमन्त्रीको अफर आएको थियो । म ती सबै छोडेर आएको छु भने म प्रधानमन्त्री बन्न हतार छु भन्नु सारै गलत हुन्छ ।

मैले जसरी लचकता र उदारता अपनाएको छु, म जस्तो अरु पाउन गारो हुन्छ । पाँच वर्ष सरकार चल्छ । राष्ट्रको र इतिहासको आवश्यकतालाई रचनात्मक रुपमा सोचेर जानु छ । सहमति र सहकार्य जरुरी छ ।

संविधान संशोधन

संघीय समाजवादी पार्टीसँग तीन बुँदे सहमति भएको हो । त्यहाँ आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने कुरा छ ।

अहिले पनि संविधान भनेको संशोधनीय दस्तावेज हो भन्ने पार्टीको नीति हो ।

त्यतिबेला समाजवादी अहिले नै गर्नुपर्यो भनेको पनि हो । समयावधि तोकिएको होइन । आवश्यकता अनुसार गर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily