+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसलाई रावलको प्रश्नः संविधान मान्दिन भन्ने विन्दुमा पुगेकै हो त?

4KNationalDaily
२०७६ भाद्र ३०, सोमबार १९:५९ बजे

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लिएको अडानप्रति आपत्ति जनाएका छन्।

सोमबार राजधानीमा आयोजित साक्षत्कार कार्यक्रममा नेता रावलले नगरिकतामा खुकुलो नीति लिन नहुने अडान राखे।

नगरिकताका बारेमा कडा अडान राख्दै आएका नेता रावलले कांग्रेसले नागरिकतासम्बन्धी विषयमा अन्तरिम संविधानको कुरा उठाउनु संविधानविपरित भएको बताए।

‘नागरिकताजस्तो विषयमा नेपालजस्तो देशले खुकुलो नीति लिन सकिदैन् भनेर हामीले धेरै छलफल गर्यौं, हाम्रा छिमेकी देशहरु भारत, चीन र अमेरिकाजस्तो देशमा पनि नागरिकताको विषयलाई खुकुलो बनाएको देखिँदैन्’, उनले भने।

आफूहरुले संसारभरिका देशहरुको नागरिकताको विषयमा अध्ययन गरेको सुनाउँदै उनले कुनै पनि देशमा यस सम्बन्धमा खुकुलो बनाएर जानुपर्छ र जसलाई पनि नागरिकता दिनुपर्छ भन्ने कुरा नपाएको दाबी गरे।

उनले कांग्रेस जारी गरेको पूर्ण संविधानभन्दा पछाडि फर्केर अन्तरिम संविधान २०६३ मा पुगेको आरोप लगाए।

‘नेपाली कांग्रेसले नेपालको संविधानलाई मानेरै समर्थन गरेको हो भन्ने कुरा बुझेको हो मैले त। अब अहिले अन्तरिम संविधानअनुसार नागरिकताको विषयलाई टुंग्याइन्छ भन्नु यो सरासर नेपालको संविधानको अवज्ञा हो’, उनले भने, ‘ यदि नेपाली कांग्रेसले २०६३ सालको संविधानमा फर्केर जानुपर्छ भनेर तर्क दिएको हो भने म प्रश्न गर्न चाहन्छु–के नेपाली कांग्रेस नेपालको संविधान २०७२ अब मान्दिनँ भन्ने विन्दुमा पुगेको हो?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily