+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीबाट बढी लिइएको शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत, आन्दोलन स्थगित हुने

4KNationalDaily
२०७६ आश्विन ५, आईतवार १९:०७ बजे

भरतपुर- चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ।

आज दिनभर जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा साविककै शुल्कमा समायोजन गर्ने सहमति भएको हो।

विद्यार्थीले सञ्चालन गरेका सबै विरोधका कार्यक्रम भोलिदेखि नै स्थगन गरेर पठनपाठन सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

विद्यार्थीले कलेज प्रशासनसँग राखेका आन्तरिक मागका सम्बन्धमा भने कलेज प्रशासन र अभिभावकबीच आपसी समन्वय गरी समस्या समाधान गर्ने सहमति भएको उनले बताए।

बढी शुल्क कसलाई कति फिर्ता गर्ने भन्ने विषयमा समिति गठन गरिएको र त्यसका आधारमा फिर्ता गर्ने रकम यकिन हुने प्रजिअ बस्नेतको भनाइ छ।

मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपाने, आन्दोलनरत विद्यार्थीको तर्फबाट प्रकाश चन्दलगायतका विद्यार्थी, अभिभावक र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतबीच जिल्ला प्रशासन कार्यालय चितवनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म वार्ता चलेको थियो।

सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनका कारण १९ दिनदेखि पठनपाठन ठप्प छ। कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत छन्।

कलेजले, सरकारले तोकेकोभन्दा १२ देखि १५ लाख रुपैयाँसम्म बढी रकम लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए। शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily