+
Search

ताजा अपडेट +

पपुलर +

टीकापुर घटनाका सबै झुटा मुद्दा फिर्ता लिने सहमति भइसक्यो, रेशमसहित सबै रिहा हुन्छन्ः प्रचण्ड

4KNationalDaily
२०७६ आश्विन ५, आईतवार १९:१० बजे

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनाका सबै मुद्दा खारेज गर्ने सहमति भएको बताएका छन्।

आइतबार सुनसरीको झुम्कामा आयोजना गरिएको जितिया महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुले प्रधानमन्त्री निवासमै छलफल गरेर मुद्दा खारेज गर्ने सहमति गरेको बताए।

अध्यक्ष प्रचण्डले मुद्दा खारेज भएसँग जेलमा रहेका थारु नेता रेशम चौधरी छुट्न सक्ने संकेत गरे।

‘केही समयपछि सबै झुटा मुद्दाहरु खारेज हुन्छन् र बन्दी अवस्थामा रहेका थारुहरु मुक्त हुन्छन्’, उनले भने। उनले रेशम चौधरीको नाम उल्लेख नै नरी जनताको मतद्वारा चुनिएकाहरु ससम्मान आउने वातावरण बन्ने आफ्नो विश्वास रहेको बताए।

उनले वर्तमान संविधान सहमतिको दस्तावेज भएकाले आवश्यक परे संवैधानिक र शान्तिपूर्ण तरिकाले संशोधन गर्न सकिने बताए।

अध्यक्ष प्रचण्डले सामाजिक न्यायसहितको संविधानले सबैको हित गर्ने भन्दै समानुपातिक व्यवस्थाले थारुहरुको संसदमा बढीभन्दा बढी प्रतिनिधित्व भएको दावी गरे।

आफूले नेतृत्व गरेको जनयुद्धमा थारु समुदायको अग्रणी भूमिका रहेको प्रचण्डले स्मरण गर्दै उनले भने, ‘थारु समुदाय राष्ट्र निर्माणको पक्षमा इतिहासदेखि नै अग्रणी स्थानमा छ।’

थारुलाई मधेसी र जनजाति कोटामा नराखी छुट्टै पहिचान दिलाउन संवैधानिक थारु आयोग बनाइएको उनको भनाई थियो। ‘यसअघिका सरकारले छुट्टै थारु आयोग बनाएका थिएनन्, थारु समुदायले भने छुट्टै पहिचानको माग गर्दै आएका थिए,’ उनले भने।

उनले मुलुक एकात्मक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा गएकोले यसलाई थारु समुदायले उपलब्धिको रुपमा लिनु पर्ने बताए।

तराईमा थारु लगायत मधेसी समुदायले मनाउँदै आएको जितिया पर्वको शुभकामना दिँदै अध्यक्ष प्रचण्डले नेपाल भौगोलिक रुपमा सानो भएपनि जातीय र साँस्कृतिक रुपले ठुलो भएको भन्दै यसमा सबैले गर्व गर्नुपर्ने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily