गोरखा- चुमनुब्री गाउँपालिका वडा नं. ७ साबिक छेकम्पार गाविसको मुलाढाजेनसम्म सडक निर्माण गर्न चीन स्वशासित क्षेत्र तिब्बतका अधिकारी सहमत भएका छन् ।
चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ का जनप्रतिनिधि र तिब्बतको जिलोङ अधिकारी बीच केहीदिनअघि सम्पन्न बैठकमा एकदेखि डेढबर्षभित्र मुलाढाजेन सीमानासम्म सडक निर्माण गर्ने सहमति भएको हो ।
बैठक तिब्बतको जोङ्गा सहरमा भएको थियो ।
‘हामीले धेरै पहिलेदेखि सीमानासम्म सडक निर्माण गर्न माग गर्दै आएका थियौं’, वडा नं. ७ का अध्यक्ष पासाङफुञ्जो लामाले भने, ‘अहिलेको बैठकमा उनीहरुले सहमति जनाएका छन् । अबको एकदेखि दुई बर्षभित्र सीमानासम्म सडक निर्माण गरिसक्ने भनेका छन् । सीमानासम्म सडक बनेपछि छेकम्पार र चुम्चेतबासीलाई तिब्बत आवतजावत गर्न, दैनिक उपभोग्य सामान ल्याउन सहज हुने भयो ।’
तिब्बत सरकारले गोरखाको सीमाना भन्दा उता करिब १३ किलोमिटरसम्म कालोपत्रे सडक निर्माण गरिसकेको छ । गोरखा र तिब्बतको अर्को रुइला नाकासम्म भने यसअघि नै कालोपत्रे सडक निर्माण गरिसकेको खबर गाेरखाबाट प्रकाशित हुने दराैँदी दैनिकले छापेकाे छ ।
त्यस्तै वडा कार्यालयको सिफारिसको आधारमा चुम्चेत र छेकम्पारका बिरामीलाई तिब्बतको अस्पतालमा उपचार सेवा दिने बारे तिब्बती अधिकारी सहमत भएको उनले बताए ।
‘यसअघि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्र तिब्बत जान पाउने ब्यबस्था थियो । तर बुढाबुढी सदरमुकाम गएर सिफारिस लिन पनि सक्दैनथे । बालबालिकासँग नागरिकता नभएकाले सिफारिस लिन पाउँदैनथे । अब बुढाबुढी र बालबालिकाका लागि वडा कार्यालयको सिफारिसको आधारमा जोङ्गा जान पाउने र उपचार गर्न पाउने बारेमा सहमति भएको छ ।’
बैठकमा आउँदो अक्टोबर १० सम्म तिब्बत प्रवेश नगर्न छेकम्पारबासीलाई आग्रह गरिएको छ । तिब्बतमा हुने विशेष महोत्सवको सुरक्षाका लागि यसअघि नै तिब्बत रहेका छेकम्पारबासीलाई फिर्ता पठाएको उनले बताए ।
बैठकमा वडा नं. ६ का अध्यक्ष लोप्साङफुञ्जो लामा, वडन ७ का अध्यक्ष पासाङफुञ्जो लामा, चार जना वडा सदस्यहरु, वडाका कर्मचारी सहभागी थिए ।
तिब्बती अधिकारीको तर्फबाट १८ वटा सीमाना हेर्ने अधिकारी, जिल्लास्तरका प्रहरी प्रमुख, सेना प्रमुखको उपस्थिति रहेको वडा अध्यक्ष लामाले बताए ।
प्रतिक्रिया