काठमाडाैं- चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सुरक्षाका लागि ५० चिनियाँ सुरक्षाकर्मी काठमाडौं आइसकेका छन् ।
उनीहरूले सीको रुटको सूक्ष्म अध्ययन गरेका छन् । कतिपय सूचना संकलनमा खटिएका छन् ।
सीको सवारीका क्रममा पहिलो घेरामा चिनियाँ सुरक्षाकर्मी नै हुनेछन् । सी चढ्ने गाडीसमेत गत मंगलबार चीनबाट ल्याइसकिएको छ ।
सीको भ्रमणका लागि सरकारले सोल्टी होटेल तीन दिनका लागि बुक गरेको छ । सुरक्षाका कारण होटेलमा अन्य सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्मका लागि सबै कोठा बुक गरिएको हो ।
सोल्टी होटेलमा एउटा कोठाको एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । होटेलमा दुई सय ८३ कोठा छन् । जसअनुसार तीन दिनको एक करोड २७ लाख रुपैयाँ होटेललाई तिर्नुपर्ने हुन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजसमेत सोल्टी होटेलमै दिनेछिन् ।
तिब्बती शरणार्थी तथा केही मानवअधिकारवादीले प्रदर्शनको तयारीको सूचना पाएपछि शनिबार र आइतबार चिनियाँ दूतावास र कन्सुलर अफिसअगाडिको सडकमा आवतजावत रोक्ने भएको छ ।
प्रहरी स्रोतका अनुसार दुई ठाउँमा सडक डाइभर्सनको निर्णय भइसकेको छ ।
सीको सवारीका क्रममा एक घन्टासम्म रोड खाली हुने भएको छ ।
पैदलयात्रुलाई समेत रोक्ने गरी सडक खाली गर्न लागिएको छ । विमानस्थलदेखि तिनकुने, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै उनी सोल्टी होटेल पुग्नेछन् ।
त्यहाँबाट राष्ट्रपतिनिवास शीतलनिवास जाने कार्यतालिका छ ।
फर्कंदा पनि कम्तीमा एक घन्टा सडक खाली हुने एक ट्राफिक प्रहरी अधिकारीले बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक सडक प्रयोग गर्न अपिल गरेको छ ।
सडक व्यवस्थापनका लागि समेत सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा विरोध प्रदर्शन गर्न सक्ने आशंकामा प्रहरीले तिब्बती शरणार्थीसहित २० जनालाई नियन्त्रणमा राखेको छ । पक्राउ परेकामध्ये कतिपयसँग फ्री तिब्बत लेखिएका झोला र ज्याकेट भेटिएको थियो ।
त्यस्तै, गत महिना चिनियाँ दूतावासअघि केही महिलासहित चीनविरुद्ध नाराबाजी गर्ने सुनीता साहलाई पनि प्रहरीले शुक्रबार राजविराटबाट पक्राउ गरेको छ ।
चिनियाँ राष्ट्रपति सी आज आउँदै, औपचारिक वार्ता भोलि
राष्ट्रपति सी दुईदिने राजकीय भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आउँदै छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ताका लागि शुक्रबार चेन्नेईको महावलीपुरम पुगेका सी त्यहाँबाट सीधै काठमाडौं आउन लागेका हुन् ।
शनिबार बिहान मोदीसँग वार्तासँगै दिवाभोज सकेर सी काठमाडौं आउने कार्यक्रम छ । अपराह्न करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने सी करिब ९० जना प्रतिनिधिमण्डलसहित आउँदै छन् ।
राष्ट्रपतिसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का दुई पोलिटब्युरो सदस्य, विदेशमन्त्री वाङ यी तथा सिपिसी तिब्बतका सेक्रेटरीसहितका उच्च अधिकारी प्रतिनिधिमण्डलमा सामेल हुनेछन् ।
सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सांसद तथा उच्चपदस्थ कर्मचारीले स्वागत गर्ने कार्यक्रम छ ।
२३ वर्षअघि चिनियाँ राष्ट्रपति जियाङ जमिन नेपाल भ्रमणमा आउँदा पनि तत्कालीन राजा वीरेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च अधिकारीले स्वागत गरेका थिए ।
प्रतिक्रिया