काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्।
उनी सवार एयर चाइनाको विमान आज अपरान्ह साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ।
शुक्रबार भारतको यात्रामा निस्केका सी शनिबार त्यहाँको भ्रमण सकाएर चेन्नईबाट नेपालका लागि प्रस्थान गर्नेछन्।
विमानस्थलमा सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन्। उनको स्वागतको लागि विमानस्थल तथा उनी बस्ने होटल सोल्टीसम्मको सडक दुवैतर्फ विशेष तवरबाट सिँगारिएको छ।
सडकका विभिन्न स्थानमा नेपाल र चीनको मित्रता झल्किनेगरी गेट बनाइएको छ भने फूलका गमलाले सडकका दुवै किनारा रंगीन बनाइएको छ। सडक कालोपत्रे गरिनुका साथै रंगरोगनसमेत गरिएको छ।
कुनै पनि चिनियाँ राष्ट्रप्रमुखको नेपालमा औपचारिक भ्रमण हुन लागेको यो २३ वर्षमा पहिलो अवसर हो। यसलाई विशेष रुपमा लिँदै नेपाल सरकारले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने तयारी समेत गरेको छ।
प्रतिक्रिया