काठमाडौं- चिनियाँ राष्ट्रपति सि चिनफिङको स्वागत र बिदाइमा सवारी रुटमा खट्न सरकारले निजामति कर्मचारीलाई आह्वान गरेको छ।
दुई दिने राजकीय भ्रमणमा नेपाल आउन लागेका चिनियाँ राष्ट्रपतिको स्वागतका लागि शनिबार अपरान्ह ३ः४५ बजे सवारी रुटमा आउन आह्वान गरिएको छ।
साथै आइतबार चिनियाँ राष्ट्रपतिको बिदाइमा पनि सरिक हुन आह्वान गरिएको छ। बिदाइका लागि आइतबार बिहान ११ः४५ मा राष्ट्रपति सीको सवारी रुटमा सरिक हुन भनिएको छ।
राजधानीमा कार्यरत सबै कर्मचारीलाई स्वागत तथा बिदाइमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन जारी गरेको हो। सरकारी पोसाकमा स्वागत तथा बिदाइमा उपस्थित हुन आह्वान गरिएको छ।
माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सडकको दुवै क्षेत्रमा स्वागत तथा बिदाइमा सरकारी कर्मचारी खट्ने भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ राष्ट्रपतिको स्वागतार्थ सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
प्रतिक्रिया