+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगे

4KNationalDaily
२०७६ आश्विन २५, शनिबार १६:१५ बजे

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका छन्। २ दिने नेपाल भ्रमणका लागि सी एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सीको स्वागत गरेका छन्।

सीले शनिबार राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नेछन्।

यसैगरी पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेपछि उनी रात्रिभोजमा सहभागी हुनेछन्।

शुक्रबार भारतको यात्रामा निस्केका सी शनिबार त्यहाँको भ्रमण सकाएर चेन्नईबाट नेपालका लागि प्रस्थान गर्नेछन्।

सीको स्वागतको लागि विमानस्थल तथा उनी बस्ने होटल सोल्टीसम्मको सडक दुवैतर्फ विशेष तवरबाट सिँगारिएको छ।

चिनियाँ राष्ट्रप्रमुखको नेपालमा औपचारिक भ्रमण हुन लागेको यो २३ वर्षमा पहिलो अवसर हो। यसलाई विशेषरुपमा लिँदै नेपाल सरकारले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने तयारीसमेत गरेको छ।

यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए। त्यसयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका थिएनन्।

सन् २०१६ मा सीले नेपाल भ्रमण गर्ने भनिए पनि स्थगित भएको थियो। सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए। सी आइतबार १ बजे स्वदेश फर्कने छन्।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका

शनिबार

अपराह्न ४:३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

साँझ ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता

कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता

साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार

बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर

दिउँसो १२ः३० बजे स्वदेश फिर्ता

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily