काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग संघीय संसद्काे तर्फबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेटवार्ता गरेका छन्।
काठमाडौंकाे साेल्टी हाेटलमा शनिबार साँझ भएकाे भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल भ्रमण गरेकोमा नेपाली जनता खुसी भएकाे र भ्रमणका लागि सीलाई धन्यवाद व्यक्त गरे।
उनले नेपाल राजनीतिक स्थायित्व हासिल गरी समृद्धिकाे यात्रामा अगाडि बढेको जानकारी गराउँदै मित्रराष्ट्र चीनकाे सहयाेग अपरिहार्य हुने धारणा राखे।
नेपाललाई चीनकाे तर्फबाट भइरहेकाे निरन्तर सहयाेगका लागि पनि उनले धन्यवाद व्यक्त गरे।
‘नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, चीनका विरुद्ध नेपालमा कुनै गतिविधि हुन दिँदैनाैं,’ भेटका क्रममा उनले भने।
त्यसैगरी, चीनले अगाडि सारेकाे बेल्ट एन्ड राेड इनिसियटिभ (बिआरआई)मा नेपाल साझेदार बन्न पाउँदा खुसी लागेको बताउँदै उनले परियाेजनाकाे सफलताकाे शुभकामना समेत दिए।
भेटका क्रममा चीनका राष्ट्रपति सी चिनफिङले नेपालकाे ‘समृद्ध नेपाल, सुखी नेपाली’काे नारालाई सफल बनाउन चीन सबै किसिमका सहयाेग गर्न तयार रहेकाे बताए।
‘नेपालकाे संसद्काे तर्फबाट यहाँ र सांसदहरुलाई चीन भ्रमणका लागि निमन्त्रणा गर्दछु,’ राष्ट्रपति सीले भने। अध्यक्ष तिमिल्सिना राष्ट्रपति सीकाे स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत पुगेका थिए।
प्रतिक्रिया