+
Search

ताजा अपडेट +

पपुलर +

विदेशकाे जागिर छाडेर बाख्रा पालन, खोप्लाङका किसान भन्छन् – एकदम खुसी छु

4KNationalDaily
२०७६ आश्विन २६, आईतवार १९:०८ बजे

राजेन्द्र न्याैपाने

गोरखा- गाउँमा रोजगार छ भन्दा जो कोही पनि विश्वास गर्दैनन् ।

गोरखाका एक युवा गाउँमै बसेर लाखौं आम्दानी गर्न सफल भएका छन् ।

खाडी मुलुकमा छ वर्ष सम्म कडा तापक्रममा काम गरेर घर फर्किएका पालुङटार नगर खोप्लाङ, गोरखाका प्रेमराज सापकोटालाई फेरी त्यही ठाउँमा रोजगारका लागि जान पटक्कै मनले मानेन ।

मध्यपूर्वी राज्य ओमनमा रोजगारीका लागि जाँदा पाएको दुःख बयान गर्न धेरै समय लाग्ने उनले बताए ।

विदेशमा जसरी मेहेनत आफ्नै देशमा गर्दा आफ्नो परिवारसँग बस्न पाइने तथा त्यहाँभन्दा राम्रो कमाइ गर्न समेत सकिने अवस्था अहिले रहेको उनको भनाई छ ।

विदेशिएका दाजुभाइ तथा दिदीबहिनीलाई नेपाल फर्केर स्वरोजगार बन्न समेत उनले आग्रह गरेका छन् ।

यतिबेला सापकोटा नेपाल फर्किएर आफ्नै पाखापखेरामा बाख्रापालन व्यवसाय गरिरहेका छन् ।

उन्नत जातका बाख्रा पालन गरेका उनले खसी, बोका, पाठापाठी विक्री गरेर बार्षिक दुई देखी तीन लाख सम्म आम्दानी गरी रहेको दावी गर्छन ।

पंक्तिकार खोप्लाङ स्थित खानीगाउँ सापकोटाको घरमा पुग्दा घर नजिकै रहेको जंगलमा बाख्रा चराइ रहेका भेटिए ।

हाल ३० वटा वाख्रा रहेका सापकोटाका आधा भन्दा धेरै पाठापाठी पाउने अवस्थामा रहेको र अधिकाँशले २ वटाका दरले पाउने उनले बताए ।

यिनीहरुले पाएका पाठाहरुबाट पछिल्लो सालको दशैका लागि खसी तयार गर्ने र पाठीहरुलाई निरन्तर पालिरहने उनले बताए । विदेशमा भन्दा गाउँमा आएर काम गर्दा आफूलाई सन्तोष भएको उनले बताए ।

विदेशमा बसेर काम गर्ने सिलसिलामा आफू र आफूहरु जस्ता थुप्रै साथीभाईहरुले समस्या भोग्नुपरेको र ५५ डिग्री सेल्सियसको तापक्रममा जोखिमपूर्ण काम गर्दैगर्दा ज्यान समेत गइरहेको उनले बताए ।

सरकारले हामी जस्तै विदेशिएका नागरिकलाई प्रोत्साहन हुनेगरी कृषि र पशुपालनमा प्राबिधिक सहयोग तथा सहुलियतपूर्ण आर्थिक लगानी गरेमा हाम्रा गाउँघरका खेर गएका जमिन हराभरा हुने अनिमात्र ‘संबृद्ध नेपाल र सुखी नेपाली’ को सपना साकार हुने उनको भनाई छ ।

सापकोटा जस्ता उद्यमीहरुका लागि स्थानीय तथा प्रदेश सरकार, संघसंस्थाहरुले प्रोत्साहन गर्नुपर्ने सामाजिक अभियन्ता इन्द्रराज भट्टराई बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily