काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथी पर्न नदिने बताएका छन् ।
नेपाली काँग्रेसले वडादशैंलगायत विभिन्न चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ बर्ष देखिका आफ्ना साथी भएको स्मरण गर्दै आफ्नो लोकतन्त्रप्रतिको निष्ठा उनीहरुलाई राम्ररी जानकारी भएको बताए ।
‘शेरबहादुर देउवा, रामचन्द्र पौडेल मेरा ४५ बर्ष देखिका साथी हुनुहुन्छ । उहाँहरुलाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथि हुन दिन्न’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले दशैं लगायतका चाडवाडले नेपालीको संस्कृतिलाई जीवन्त राख्ने मात्र नभइ आपसी सम्बन्धलाई पनि बलियो बनाउने बताए ।
‘यस प्रकारका चाड र शुभकामनाका कार्यक्रमले राजनीतिक दलहरु बीचको कटुतालाई पनि अन्त्य गर्छन्’ प्रधानमन्त्री ओलीले भने ‘तर अहिले त हामीमा कटुता हैन मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु ।’
प्रतिक्रिया