काठमाडौं- पूर्व राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण नभएको टिप्पणी गरेका छन्।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण नभएको बताएका हुन्।
तत्कालिन सशस्त्र द्धन्द्धको अन्त्यसँगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्वर्गीय कोइरालाले स्पष्ट दृष्टिकोण राखेकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको भन्दै उनले वर्तमान नेतामा भने भिजन नै स्पष्ट नभएको टिप्पणी गरे। उनले भने ‘अहिलेका नेताहरुमा न हृदय छ। न भिजन छ। होराईजन नै सानो देखिएको छ।’
पुर्वराष्ट्रपति यादवले शान्ति प्रक्रिया, गणतन्त्र स्थापना , राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अतुलनिय रहेको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक विकासक्रमसँगै विकास निर्माण, मेडिकल कलेजको विस्तार तथा समग्र शिक्षा प्रणालीमा गिरिजा प्रसाद कोइरालाको योगदान महत्वपुर्ण रहेको बताए।
प्रतिक्रिया