+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ पर्यटक आकर्षण गर्न पोखरामा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड हुँदै

4KNationalDaily
२०७६ आश्विन २८, मंगलवार ०८:१३ बजे

पोखरा- खेल र साहसिक पर्यटनमार्फत नेपालको पर्यटनको विकास गर्न अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड-२०१९ को अन्तिम तयारी सकिएको छ।

पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै यहि असोज २९ गते बुधबार (१६ अक्टोबर)मा पोखरामा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड हुने आयोजकले जनाएका हुन्।

प्रतिस्पर्धामा चीनका २ टिम र नेपालका २५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रत्येक टिममा एक जना अनिवार्य महिलासहित तीन जना हुने छन्।

यो प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने टिमले चीनमा हुने प्रतियोगितामा सहभागी हुन पाउने पनि कार्यक्रममा जानकारी दिइयो। सो प्रतियोगितामा व्यक्तिगततर्फ ३० जना चिनियाँ खेलाडीको सहभागिता रहने पनि आयोजकले जनाएका छन्।

कार्यक्रमका संयोजक विश्व शंकर पालिखेले सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा विकास गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममा चीनका करिब ४० जना धावक, त्यहाँका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ६० जनाको टोली सहभागी हुने पनि आयोजकको भनाइ छ।

दौड पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट सुरु हुनेछ। दौडको पुरा दुरी ४२.२ किलोमिटर हुने छ जसमा २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुनेछ।

यो इभेण्टलाई चिनियाँ टेलिभिजन तथा पत्रपत्रिकाले व्यापक रुपले कभरेज गरि प्रचार प्रसार गराउने लक्ष्य लिइएकोले यसले चिनियाँ बजारमा नेपाल र पोखराको पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुग्ने पनि आयोजकको अपेक्षा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily