काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेताहरुको छवि सत्तामा नपुगुन्जेल राम्रो हुने तर सत्तामा पुगेपछि धुमिलिने गरेको टिप्पणी गरेका छन्।
सुदूरपश्चिम प्रदेशअन्तर्गत स्थानीय तहका पदाधिकारिका लागि आयोजित विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सत्तामा पुग्नुअघि जनता जस्तै हुने कम्युनिष्ट नेता तथा कार्यकर्ता सत्तामा पुगेपछि सुटेड-बुटेड हुने गरेको बताएका हुन्।
‘कम्युनिष्ट पार्टीको रोग भनेकै सत्तामा नपुगुन्जेलसम्म राम्रो। नेता पनि असाध्यै राम्रा, जत्ति दुःख पाए पनि भूमिगत बस्ने, जनताको घरदैलो तथा झुपडीमा जाने, जनताले जस्तो दिन्छन् त्यस्तै खाने, जहाँ भन्छन् त्यहीँ सुत्ने, त्यस्तै लगाउने, जनता जस्तै हुन्छन्,’ उनले भने, ‘जनताकै छोराछोरी भएका कम्युनिष्टहरु सत्तामा गएपछि सुटेड-बुटेड।’
कम्युनिष्ट चरित्र र कार्यकर्तामाथि निकै आक्राेसित देखिएका प्रचण्डले बिग्रँदाे छविप्रति चिन्तासमेत व्यक्त गरे।
‘चिल्ला गाडी त चढ्न नि परो फेरि,’ केहीबेरको हाँसो पछि प्रचण्डले भने, ‘कुरा बुझ्नु भयो नि मैले के भन्न खाेजेँ? हुँदै जाँदा बिस्तारै केही कम्युनिष्ट पार्टीका नेताकार्यकर्ता तपाईं हामीले थाहै नपाइकन आज कोसँग संगतमा छन् त? जनतासँग त छैनन्।’
सत्तामा पुगेपछि कम्युनिष्ट नेताको संगत जनतासँग भन्दा बढी माथिल्लो तहका व्यक्तिहरुसँग हुने गरेको उनको भनाइ थियो।
उनले थपे, ‘हाम्रो त ठूला-ठूला सचिव, मुख्यसचिव, ठूला-ठूला डाक्टर, इन्जिनियरहरु त्यस्तै-त्यस्तैसँग छ। कर्मचारीतन्त्र त हामीले बदलेका छैनौं नि। राजा फाले पनि कर्मचारीमा त राजाले नै भर्ना गरेका व्यक्तिबाट काम चलाइरहेका छौं। चलाउनु पनि पर्छ। अब, मेरो भावबाट बुझ्नुहोला। धेरै शब्द भन्न थालेँ भने बिग्रेला भन्ने डर हुन्छ।’
प्रचण्डले विगतमा नेता र मन्त्री नै कर्मचारी जस्तो भएकाले विकास हुन नसकेको जिकिर गरे। उनले कर्मचारीले मन्त्री र नेतालाई फनफनी घुमाउने गरेकाले जनता निरास हुने स्थिति विगतमा पैदा भएको दाबी गरे।त्यही खतरा टार्न नै आफूहरुले पार्टी एकता गरेको उनको भनाइ छ।
‘कम्युनिष्ट पार्टी सुरुमा सानो हुन्छ। श्रमजीविकै पक्षमा हुन्छ। श्रमजिविप्रति इमानदार हुन्छ। जनताप्रति यति निष्ठावान र बफादार हुन्छ कि जस्तोसुकै भूमिगत जीवन, त्याग र यातना भोग्दा पनि झुक्दैनन्।
ती नेता र कार्यकर्ताप्रति जनताको भरोसा बढ्दै-बढ्दै यस्तो विशाल पार्टी बन्दोरहेछ,’ प्रचण्डले भने, ‘तर, सत्तामा पुगेपछि कम्युनिष्ट बिस्तारै आफ्नै कारण सकिएको विश्व इतिहास छ। कसैले हराएर कम्युनिष्ट हारेको छैन। आफ्नै कारण हारेको छ।’
उनले वाम गठबन्धनलाई जनताले दिएको जिम्मेवारी नै नेता र कार्यकर्ताका लागि चुनौती बनेर खडा भएको बताए।
निर्वाचनमा गरिएका प्रतिवद्धताअनुसार सरकारले काम गरेको छ कि छैन आत्मसमीक्षा गर्नुपर्ने बेला भएको उनको भनाइ थियो।
प्रतिक्रिया