काठमाडौ- सरकारले चिकित्सा शिक्षा क्षेत्रको नयाँ शुल्क तोकेको छ । चिकित्सा शिक्षा आयोगले शुक्रबार ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क तोकेको हो ।
तोकिएको शुल्कभन्दा बढी शुल्क लिनेलाई कानूनबमोजिम कारवाही गर्ने आयोगले निर्णय गरेको छ ।
आयोगले काठमाडौँ उपत्यकाभित्र एमबीबीएसका लागि ४० लाख २३ हजार २५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ शुल्क तोकेको छ ।
यस्तै बीडीएसका लागि उपत्यकाभित्र र बाहिरका लागि समान २० लाख १९ हजार ५८० शुल्क तोकेको छ ।
नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५–०७६ को मुद्रास्फितीको आधारमा आयोगले शैक्षिक शत्र २०७६–०७७ को शुल्क निर्धारण गरेको हो ।
विसं २०७५ असोज २८ गते सरकारले काठमाडौँ उपत्यकाभित्र एमबीबीएसका लागि ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार र बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ शुल्क कायम गरेको थियो ।
आयोगले विद्यार्थीबाट लिने शुल्कमध्ये एक तिहाइ रकम पहिलो वर्षमा र बाँकी रकम बार्षिक रुपमा किस्ताबन्दीमा लिने व्यवस्था ऐनमा नै भएकाले सोही व्यवस्था अनुसार गर्नसमेत ध्यानकर्षण गराएको छ ।
शिक्षण शुल्कमा उल्लेखित विषयभन्दा बढी रकम लिएको पाइए त्यो कानून विपरित हुने भएकाले आयोगले कारवाही गर्ने चेतावनी दिएको छ ।
आयोगको बिहीबार र शुक्रबार बसेको बैठकले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरी सोहीअनुसार गर्न गराउन आग्रह गरेको हो ।
प्रतिक्रिया