काठमाडौं – सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो ।
अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मास प्रिन्टर’ लाई हेरिएको छ ।
प्रतिघण्टा पाँचदेखि छ सयसम्म अनुमतिपत्र छपाइ गर्ने क्षमता रहेको ‘मास प्रिन्टर’ अबको केही दिनभित्रै सञ्चालनमा ल्याइने भएको छ । डेढ महिना पहिले ल्याइएको उक्त उपकरणको जडान र परीक्षण सकिएकाले अब सञ्चालनमा ल्याउन लागिएको हो ।
अबको केही दिनसम्म परीक्षण भएपछि उपकरण पूर्णरूपमा सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनबाट झण्डै साढे सात लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ ।
यो सङ्ख्या अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तिर्ण र नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीको हो ।
यो उपकरण पूर्णरूपमा सञ्चालन हुँदा तीनदेखि चार महिनामा सबै कार्ड छापिसकिने विभागले अनुमान गरेको छ ।
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ खरीद गरेको थियो ।
उपकरणले चाँडो काम गर्ने भएकैले विभागले ठूलो सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएकाले १० लाख कार्ड खरीदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । तीमध्ये ४ लाख कार्ड आइसकेको र बाँकी ६ लाख आउने क्रममा रहेको विभागले जनाएको छ ।
विभागमा रहेका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको थियो । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । तीमध्ये अहिले तीन मात्रै काम गर्ने अवस्थामा छन् ।
प्रतिक्रिया