+
Search

ताजा अपडेट +

पपुलर +

प्रवलीकरण सम्बन्धी प्रशिक्षण : मौलिक घरको जर्गेना गर्न उद्देश्य

4KNationalDaily
२०७६ कार्तिक २४, आईतवार १७:३४ बजे

गाेरखा- प्रवलीकरण सम्बन्धी तालिम दिने उद्देश्यले गोरखाको सिरानचोक गाँउपालिकामा ४ दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।

सामान्य क्षति पुगेका मौलिक संरचनको ढुंगामाटोको घर भएको सिरानचोकको वडा नम्बर ३ हर्मी स्थित सुक बहादुर गुरुङको घरमा प्रशिक्षकहरुलाई प्रशिक्षण तालिम दिई प्रवलीकरण सुरु भएको हो ।

भारत सरकारद्धारा सहयोग प्राप्त युएनीडीपको समन्वयमा सञ्चालित नेपाल आवास पुनर्निर्माण परियोजनाले सिरानचोक तथा अजिरकोट गाउँपालिकामा कार्यरत इन्जिनियर, सब इन्जिनियर, सामाजिक सहजकर्ता तथा आवास निर्माण साथीलाई प्रवलीकरण सम्बन्धी प्रशिक्षण दिन लागिएको हो ।

मौलिक घरको जर्गेना गर्न प्रवलीकरण सम्बन्धी जनचेतना वडास्तरमा फैलाउन आवश्यक रहेकोले प्रशिक्षण दिएर जनशक्ति उत्पादन गर्ने लक्ष्य यस तालिमले लिएको परियोजनाका जिल्ला संयोजक राम सापकोटाले बताए ।

यस्तै, श्रोत व्यक्ती एवम् वरिष्ठ स्ट्रक्चरल इन्जिनियर राजेन्द्र अजित देशाईले पुनर्निर्माण तीव्र गतिमा भएपनि प्रवलीकरण तीव्र स्तरमा हुन नसकेकोमा जनस्तरमा प्रवलीकरण सम्बन्धी चेतना फैलाउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

परियोजनाले सामान्य क्षति पुगेका घरमा समेत प्रवलीकरण (रेट्रोफिटिङ ) गरेर घर बलियो तथा भूकम्प प्रतिरोधी बनाउन सकिने तथा भविष्यमा प्रवलीकरणका लागि दक्ष जनशक्ति तयार गर्न सहज हुने हेतुले प्रशिक्षक प्रशिक्षण दिएको वरिष्ठ इन्जिनियर सन्तोष लामाले बताए।

मौलिक पहिचान भएका डेढ देखि दुई तल्ला सम्मका सामान्य क्षति पुगेका ढुंगामाटोका घरमा समेत प्रवलीकरण गरेर बलियो बनाउन सकिने लामाले बताए ।

यसैबीच, परियोजनाले प्रवलीकरण सम्बन्धी स्थानीयस्तरमा जनचेतना फैलाउने उद्देश्यले गोरखा नगरपालिकामा १, पालुंगटार नगरपालिकामा १,आरुघाटमा १ र धार्चे गाँउपालिकाको काँशी गाँउमा १ घरमा प्रवलीकरण सम्पन्न गरि सिरानचोक गाँउपालिकामा प्रवलीकरण भईरहेको इन्जिनियर समिर भट्टराईले बताए।

प्रवलीकरण आवश्यक रहेका घरमा पूनर्निर्माणमा खटिएका प्रशिक्षकलाई प्रशिक्षण दिइएको हो । आगामी दिनमा समेत परियोजनाले स्थानीय स्तरमा जनचेतना फैलाउने उद्देश्यले करिब २० वटा घरमा प्रवलीकरण गर्ने लक्ष्य लिएको जिल्ला संयोजक  सापकोटाले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily