काठमाडाैं- राष्ट्रिय खेलकुद परिषद्ले महिला भलिबल इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको टोलीका प्रत्येक खेलाडीलाई जनही तीन लाख प्रदान गर्ने भएको छ ।
परिषद्का सदस्य–सचिव रमेश सिलवालले खेलाडीको स्वागत गर्दै शुक्रबार टोलीका सदस्यहरूलाई तीन लाखबाट सम्मानित गर्ने घोषणा गरेका हुन् ।
अरुण शाहीको कप्तानीमा नेपाली टोलीले बंगलादेशमा अपराजित रहँदै पहिलो एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता जितेको थियो । नेपालले बिहीबार उपाधि भिडन्तमा माल्दिभ्सलाई ३–० को सेटमा सहज पराजित गर्दै उपाधि उचालेको थियो ।
च्याम्पियनसिप ट्रफी बोकेर त्रिभुवन विमानस्थलमा उत्रँदा खेलाडीहरूलाई नेपाल भलिबल संघ तथा परिषद्का पदाधिकारीले स्वागत गरेका थिए । यसका साथै समर्थकले पनि टोलीको स्वागत गरेको थियो ।
विमानस्थलमा टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट निकै प्रशन्न मुद्रामा देखिए । पत्रकार र समर्थकको हुलले घेरिएका प्रशिक्षक भट्टले आफूहरू उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश गएको प्रतिक्रिया दिएका छन् ।
च्याम्पियनसिपबाट आसन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको प्रदर्शन राम्रो हुने प्रशिक्षक भट्टको भनाइ रह्यो ।
‘घरमै आयोजना हुने सागमा हाम्रो लक्ष्य स्वर्ण नै हुनेछ,’ उनले भने, ‘बंगलादेशमा खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पाएका छन्, उनीहरूको मनोबल उच्च रहेको छ ।’
यता कप्तान शाहीले आफ्नो नेतृत्वमै उपाधि जित्दा लक्की भएको बताएकी छिन् । ‘मैले कप्तानी गरेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता नै जित्दा म आफूलाई भाग्यमानी मान्छु,’ हर्षित हुँदै शाहीले भनिन् । सात वर्षअघि भलिबल खेल्न सुरु गरेकी शाहीले टिमवर्कका कारण सफलता मिलेको बताइन् ।
प्रतिक्रिया