कञ्चनपुर- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदाररूपमा उठाएको बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय शसक्तरुपमा उठान नगरेको आरोप लगाए ।
सीमा विवाद हल गर्न र अतिक्रमित भूमि फिर्ता ल्याउन कम्युनिष्ट सरकारले मतलब नगरेको पनि देउवाले बताएका छन् । देउवाले ओलीले नाकाबन्दीमा चर्को राष्ट्रवाद देखाएको तर सिमा बिबादमा भने लम्पसार परेको समेत बताएका छन् ।
उनले भने, ‘सीमा विवादमा कम्युनिष्ट सरकारले मतलबै गर्दैन। नाकाबन्दी ताका राष्ट्रवादको नारा दिने, सिमा बिबादमा भने कुटनीतिक तवरबाट विवाद हल गर्ने काम नगर्ने?,’ देउवाले प्रश्न गरे, ‘सरकारले गर्ने पहलमा हाम्रो समर्थन रहन्छ भनेकै हो। राष्ट्रवादको नारा दिने अनि लम्पसारवाद हुने? विवाद समाधान गर्ने काम त गर्नुपर्यो नि।’
सभापति देउवाले आफू प्रधानमन्त्री भएका बेला सीमा विवाद मिलाउन पहल गरेको दाबी गरे।
‘मैले प्रधानमन्त्री हुँदा कुटनीतिक पहल गरेको थिएँ। आज पनि भन्दैछु, कुटनीतिक पहल गर्नुपर्छ,’ उनले भने।
देउवाका अनुसार नेपाल-भारत सीमा महाकाली नदी हो भनेर सन्धीमै लेखिएको छ।
‘महाकालीको पानी पनि आधा हक लाग्छ भन्ने सिद्धान्त तहमै पास भएको हो,’ देउवाले भने।
प्रतिक्रिया