+
Search

ताजा अपडेट +

पपुलर +

मतदाता शिक्षा कार्यकर्तालाई सहयोग गर्न निर्वाचन आयोगकाे आग्रह

4KNationalDaily
२०७६ मंसिर ७, शनिबार ०८:२३ बजे

काठमाडाैं- निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रका सम्पूर्ण मतदातासमक्ष मतदाता शिक्षा कार्यकर्तालाई सहयोग गरी सबैको सहभागितामा सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गर्ने/गराउने कार्यमा योगदान पुर्‍याउन अनुरोध गरेको छ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यको रिक्त पदका लागि यही मंसिर १४ गते उपनिर्वाचन हुने ३७ जिल्लामा मतदातालाई प्रशिक्षित तुल्याउन बिहीबारदेखि मतदाता कार्यकर्ता परिचालित छन्।

मतदाता कार्यकर्ताले ठीक तरिकाले मतदान गर्न र बदर मत न्यूनीकरण गर्न मतदाताको घरदैलोमै पुगेर मतादाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

स्थानीय तहका प्रत्येक वडामा दुई जनाका दरले खटिने मतदाता शिक्षा कार्यकर्ताले उपनिर्वाचनसम्बन्धी जानकारीमूलक पोष्टर टाँस्नुका साथै निर्वाचनसम्बन्धी पुस्तक र पर्चा वितरण गर्ने छन्।

उनीहरुले नमूना मतपत्रको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे पनि मतदातालाई जानकारी गराउने छन्।

मतदाता कार्यकर्ताको रूपमा सम्बन्धित जिल्लास्थित प्राथमिक तह वा बाल विकास केन्द्रका शिक्षिका, महिला स्वास्थ्य स्वयंसेविकामध्येबाट आवश्यक सङ्ख्यामा जिल्ला निर्वाचन कार्यालयबाट खटिएको आयोगले जनाएको छ।

सामुदायिक केन्द्रका तालीमप्राप्त सहजकर्तालाई समेत मतदाता शिक्षा कार्यक्रममा समावेश गरिएको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily