काठमाडौं– मन्त्रीपरिसद पुर्नगठनमा अपहेलना गरेको भन्दै समाजवादी पार्टी नेपालले सरकारसँग वार्ता गर्ने भएको छ ।
समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूसँग परामर्श नगरी केही दिनअघि मन्त्रिपरिषद पुनर्गठन गरेपछिको अवस्था र सरकारमा सहभागी हुँदा गरेका दुई बुँदाबारे वार्ता गर्न संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई नेतृत्वमा वार्ता समिति बनाएको हो ।
समाजवादी पार्टीको शनिबार साँझ बसेको पदाधिकारी बैठकले संविधान संशोधनलगायत विभिन्न विषयमा सरकारसँग वार्ता गर्न बनाएको वार्ता समितिमा भट्टराई, केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोककुमार राई, सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
वार्ता समितिले असहमत भएका बिषय र संविधान संशोधनलगायत दुई बुँदाबारे सरकार तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग वार्ता गर्ने पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
आफूहरूलाई जानकारीबिनै मन्त्रालय हेरफेर गरेपछि समाजवादीभित्र सरकार छाड्न दबाब छ ।
शनिबार राती अबेरसम्म बसेको पार्टी पदाधिकारीको बैठकपछि पार्टी तत्काल सरकार नछाड्ने निष्कर्षमा पुगेको थियो ।
सरकार छाड्नुभन्दा पहिले एकपटक सरकारसँग गम्भीर वार्ता गर्ने निर्णय भएको हो ।
प्रतिक्रिया