पोखरा- घरदैलोमा पुगेको समाजवादीका उम्मेदवार इन्जिनियर धर्मराज गुरुङलाई भलामवासीले देशको अहिलेको स्थितिप्रति निराशा पोखे ।
उनीहरुले पहिल्यैदेखि शासन गरिरहेका र अहिलेको सरकार तथा प्रतिपक्षले मन जित्न नसकेको बताउँदै जनतालाई न्याय दिलाउने गरी संसदमा जान आग्रह गरेका छन् ।
‘सीमा लुटियो भन्छन् । सरकारले भाषणबाहेक काम नै गर्दैन् । न हामीले कुनै सेवा सुविधा पाएका छौं,’ सोमबहादुर खत्रीले भने, ‘अब तपाईंले जनताको मन जित्ने गरी काम गर्नुस् ।’
भलामकै क्याप्टेन चोकबहादुर गुरुङले देशमा गणतन्त्र आइसके पनि जनताले महसुस गर्न नसकेको बताउँदै गणतन्त्रको रक्षा गर्न प्रतिवद्ध भएर लाग्न धर्मराजलाई आग्रह गरे ।
समाजवादीको हात जनताकै आवाज उठाउने हात भएको उम्मेदवार धर्मराजले बताए । ‘समाजवादीको हात नेपाली जनताकै हो । धर्मराजको हात पोखरेलीकै हो । जुन हात निरन्तर सुशासन कायम गर्न उठिरहन्छ,’ धर्मराजले भने ।
उम्मेदवार गुरुङले आफू देश र जनताको पक्षमा काम गर्न दृढ संकल्पसहित चुनावमा होमिएको बताए ।
‘आज सीमा मिचिँदा सरकार चुप छ । सार्वजनिक जग्गा मिच्नेलाई संरक्षण गर्छ । पोखरामै कति सकर्वजनिक जग्गा मिचिएको छ । जनताका आवश्यकता छायाँमा छन्,’ उम्मेदवार गुरुङले भने, ‘म त्यही कुरा संसदमा उठाउन, भ्रष्टाचार कुशासनको विरोध गर्न र अन्याय, अत्याचारको बिरुद्ध आवाज बुलन्द बनाउन उम्मेदवार भएको हुँ ।’
संसदमा पुगेर जनताको अधिकारको लडाईं लड्ने धर्मराजले बताए । देशमा गणतन्त्र आए पनि जनताले समावेसिता, पहिचानको पहसुस गर्न नसकेको उनको भनाइ थियो ।
‘समाजवादी पार्टी सबै जनताको समान अधिकारको पक्षमा छ । देशमा कोही सानो ठूलो हुनुहुँदैन । सबैले देशको नागरिक हुनुको महसुस गर्न पाउनुपर्छ,’ उम्मेदवार गुरुङले भने ।
प्रदेश र स्तानीय सरकारले गरेका अनियमितता र बेइमानीमा सजग रहन आग्रह गर्दै गुरुङले जनतालाई झुक्याउने काम भइरहेको बताए ।
‘हामीले सबैको घरदैलामा पुगेर जनतालाई बुझाउन नभ्याउन पनि सक्छौं । अब भोट हाल्ने दिन नजिकै आइसक्यो । धेरैले धेरैथरि प्रलोभन बाँड्न सक्छन्,’ गुरुङले भने, ‘आश्वासनमा नपरी योग्य र सक्षम व्यक्ति छानेर भोट हाल्नुहोला ।’
प्रतिक्रिया