ललितपुर– ठूलै प्राकृतिक विपत्तिले खियाएको पहाडझैं छ वरिपरिको जमिन। त्यही जमिन उधिन्न प्रयोग भइरहेका छन् ठूला डोजरलगायत उपकरण।
त्यहाँ पुग्दा धुलो र चर्को ध्वनिले निसास्सिएझैं हुन्छ। उराठलाग्दो वातावरणीय परिवेशमा ठिंग उभिएका छन् तीनवटा घर। जस्तापाताले छाएका ती घर धुलाम्मे छन्।
वरिपरि जमिन उधिन्न प्रयोग भएका उपकरण चल्दै गर्दा घर पनि बिस्तारै हल्लिएजस्तो महसुस हुन्छ।
तीन घरको अगाडिपट्टि एउटा धारो छ। धारोमा बच्चालाई नुहाइदिँदै छिन्– २७ वर्षीया सीता नगरकोटी। ललितपुरको गोदावरी नगरपालिका–६ स्थित लेले ढुंगेमा बुधबार देखिएको दृश्य हो यो।
नागरिककर्मीलाई पाँच मिनेट त्यहाँ उभिँदा त सास फेर्न गाह्रो भइरहेको बेला उनलाई धारामा देख्दा आश्चर्य लागेकाे खबर अाजकाे नागरिक दैनिकमा छ ।
यस्तोमा पनि कसरी बस्न सक्छन् होला उनीहरू ? चस्मा–मास्क लगाएरै सीताले छोरालाई नुहाइदिँदै गरेको धारोनजिक पुग्दा उनले केहीबेर हामीतर्फ नियालिन्।
‘तपाईं यही घरमा बस्नुहुन्छ दिदी’ भन्ने प्रश्नमा उनले भनिन्, ‘घरै यहीं हो, कहाँ जानु, तपाईंहरू चाहिँ को नि ?’ पत्रकार भनेर परिचय दिएपछि उनले यसरी पीडा पोख्न थालिन्, ‘लौ न हजुर हामीलाई कतै सारिदिनुप-यो। यहाँ त बस्नै सकिएन। रातैभर घरमुनि डोजर र भे्रकर (ढुङ्गा फोर्ने मेसिन) चल्छन्। न सुत्न पाइन्छ न घरभित्र आनन्दले बस्न नै।’
ढुंगेको परिवेश हेर्दा लाग्छ– सायद अवैध क्रसर र खानी सञ्चालनका कारण यति प्रभावित बनेको बस्ती अरू कुन होला ?
लेले खोलाको किनार क्षेत्रका सिखर्पा र ढुंगे बस्ती अहिले अवैध बालुवा र ढुंगाखानीको चपेटामा छन्।
ढुंगेमा तीन वर्षअघि १३ वटा घर थिए। १० घरपरिवार अवैध उत्खननबाट सिर्जित समस्याले सताएर अन्यत्र सरेपछि अहिले तीन घरपरिवार मात्र त्यहाँ छन्।
प्रतिक्रिया