+
Search

ताजा अपडेट +

पपुलर +

दक्षिण एसियालाई एकजुट बनाउँदै साग, आज राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै

4KNationalDaily
२०७६ मंसिर १५, आईतवार ०८:५६ बजे

काठमाडाैं- १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकूद (साग)को उद्घाटन आइतबार (आज) हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच सागकाे उद्घाटन गर्नेछिन्।

करीब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ।

उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ।

सरकारले १३औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा गरिसकेको छ।

प्रतियोगीतामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम शनिबार सम्पन्न भइसकेको छ।

काठमाडाैं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरव उठाउने हिसाबले ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताए।

उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहनेछ। दक्षिण एसियाली मुलुकबीचको यो प्रतियोगीतालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ।

सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ। सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।

तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहनेछ।

सागलाई सफल तुल्याउन करीब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ। सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

सन् १९८४ मा पहिलो पटक नेपालबाट सुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो। सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो।

प्रतियोगिताअन्तर्गत महिला फुटबल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पर्यटकीयस्थल पोखरामा तथा ऐतिहासिक नगरी जनकपुरमा कुस्ती खेल हुनेछ।

१३औं सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक कायम गरिएको छ।

नेपालले यो प्रतियोगीतामा कम्तिमा पनि दोस्रो स्थान हासिल गर्ने दाबी गरेको छ। सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ।

दक्षिण एसियाली मुलुकसहित विश्वका १५ भन्दाबढी मुलुकबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ।

सरकारले सन् २०२० का लागि घोषणा गरेको नेपाल भ्रमण वर्षको रणनीतिक तयारी योजनासँग जोडेर यस पटकको सागको तयारी गरेको छ।

काठमाडौँ, पोखरा र जनकपुर पुग्ने पाहुनालाई सो स्थानका सांस्कृतिक सम्पदा, रहनसहन, वेषभूषा, भाषा र संस्कृतिबारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ।

यस्तो कार्यक्रमले भ्रमण वर्ष २०२० वर्षलाई सफल तुल्याउन महत्वपूर्ण आधार तयार गर्ने मन्त्री विश्वकर्मा बताउँ छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily