काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेकपाको केन्द्रीय कार्यालय धूम्बाराहीमा आइतबार सहिद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा सहिद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उनले द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट पारे।
अध्यक्ष दाहालले भने, ‘द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छ, विस्तृत शान्ति सम्झौता भएदेखि नै हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउनु हुँदैन भनेर भन्ने मै हुँ, प्रत्येक घटनाको छानबिन गरौँ भनेर मैले नै भनेको हुँ।’
प्रचण्डले द्वन्द्वका घटनालाई आममाफी दिने प्रस्ताव आउँदा आफूले अन्तरिम संविधान निर्माणका क्रममा हुन्न भनेर सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाउने प्रस्ताव गरेको बताए ।
प्रचण्डले अहिले पार्टी एकता भइसकेको भए पनि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच द्वन्द्व नभएको र आपसमा लडाइँ पनि नभएको उल्लेख गर्दै पञ्चायत र राजतन्त्रविरुद्ध सँगै लडेको स्मरण गरे ।
प्रतिक्रिया