काठमाडाैं- ‘नाईं नभन्नू ल ४’ बाट फिल्मी करिअर सुरु गरेकी अभिनेत्री आँचल शर्माले अहिलेसम्म दर्शकलाई चक्मा दिने खालको भूमिका निभाएकी छैनन् ।
पछिल्लो रिलिज फिल्म ‘दाल भात तरकारी’ सम्म आइपुग्दा अभिनयमा पनि निखारता ल्याउन नसकेकी उनी प्रायः शहरिया युवतीको भूमिकामा देखिँदै आएकी छन् । तर, फिल्म ‘झिँगेदाउ’ मा भने उनी विल्कुलै फरक भूमिकामा छिन् ।
यसमा उनले गाउँले भूमिका निभाएकी छन् । आइतबार निर्माण टिमले अभिनेत्री आँचलको लुक्स सार्वजनिक गरेको छ । जसमा उनलाई निकै फरक गेटअपमा देख्न सकिन्छ ।
सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते, सातो रंगको साडी र गुन्यू चोलीमा देखिएकी उनले कम्मरमा पटुकी बाँधेकी छन् । त्यस्तै, हातमा हँसिया र गाईवस्तुका लागि पिठ्युमा घाँसले भरिएको डोको बोकेकी छन् ।
उनको यो गेटअपले दर्शकमा फिल्मप्रति कौतुहलता जागृत गर्ने देखिन्छ । फिल्ममा उनले विवाहित महिलाको भूमिका निभाएकी छन्, जो विकट गाउँमा बस्छिन् ।
पहिलो पटक फरक भूमिका निर्वाहा गर्न पाएकी उनी आफ्नो भूमिकालाई दर्शकले मन पराउनेमा विश्वस्त छिन् । फिल्ममा उनको जोडी ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिका निभाएका मुकुन्द भुषालसँग बाँधिएको छ ।
प्रतिक्रिया