काठमाडौं- उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक–दुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने जनाएका छन्।
प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको र यस्तै सुधार जारी रहे डिस्चार्ज गर्न सकिने उनीहरूले जनाएका हुन्।
‘सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता नथपिए, प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिनेछ’, उपचारमा संलग्न एक चिकित्सकले भने।
प्रधानमन्त्री ओलीलाई ९ दिनअघि ‘एपेन्डिसाइटिस’ सहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी आकस्मिक शल्यक्रिया गरिएको थियो।
शल्यक्रियापछि उनलाई आईसीयूमा राखिएको छ । उनलाई शनिबार र आइतबार दुईपटक डायलसिस गरिएको थियो । प्रधानमन्त्रीलाई डिस्चार्ज गर्नुअघि डायलसिस गरिने जानकारी ती चिकित्सकले दिए ।
‘अब प्रधानमन्त्रीलाई घरमै आराम गर्दा पनि त्यति अप्ठ्यारो हुनेछैन,’ ती चिकित्सकले भने।
उनका अनुसार प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको ठाउँमा भएको घाउ निको हुने क्रममा छ ।
आईसीयूमा प्रधानमन्त्रीले राम्ररी कुराकानी गर्नुका साथै नरम (गिलो)आहारसमेत सेवन गरिरहेका छन् । उनले लिने नरम आहार बिस्तारै सामान्य आहारजस्तै भइरहेको छ।
सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा ६७ वर्षीय प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया