+
Search

ताजा अपडेट +

पपुलर +

भ्रष्टाचार मुद्दामा इन्जिनियर धेरै, १ सय ४० जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता

4KNationalDaily
२०७६ मंसिर २३, सोमबार ०७:३६ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ ।

घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ ।

६ महिनाको अवधिलाई हेर्दा अख्तियार ठूलो भ्रष्टाचार मुद्दा केन्द्रितभन्दा पनि स्ट्रिङ अप्रेसन चलाएर मुद्दामा केन्द्रित भएको देखिन्छ ।

अख्तियारकै लय समाउँदै सरकार पनि भ्रष्टाचार नियन्त्रणका लागि निर्मम भएर लाग्नेभन्दा शून्य सहनशीलताको भाषण गर्ने, कसम खान लगाउने, गीत गाउन लगाउनेजस्ता ‘कस्मेटिक’ परिवर्तनमा रमाइरहेको खबर अाजकाे राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

पछिल्लो समय अख्तियारले ठूलो मुद्दामा चासो दिन छाड्नुले पनि भ्रष्टाचारी समाउने भन्दा पनि धेरै मुद्दाको रेकर्ड कायम गर्नेमा केन्द्रित रहेको विज्ञको भनाइ छ । अख्तियारले १ हजार रुपैयाँदेखि ४७ लाखसम्म बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दर्ता गरेको देखिन्छ ।

सात महिनादेखि ललिता निवास प्रकरणको मुद्दा अनुसन्धान गर्नमै अख्तियार केन्द्रित छ भने ‘हाई प्रोफाइल’का अकुत सम्पत्ति मुद्दालाई थाती राखेर ५ सय रुपैयाँदेखि लाखौं रुपैयाँको स्ट्रिङ अप्रेसनमा केन्द्रित भएको छ ।

अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० जना इन्जिनियर फन्दामा परेका थिए ।

अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सीडीई मोहनबाबु यादवले षडानन्द नगरपालिका–१३ बोयामा रहेको छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने नाममा सेवाग्राहीसँग १ लाख ८० हजार रुपैयाँ लिदै गर्दा पक्राउ गरेको थियो ।

१४ असारमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर (आठौं तह) बसी अख्तर मोहम्मदले खानेपानी आयोजनाको भुक्तानी दिएकामा सेवाग्राहीसँग ४ लाख घुस लिँदा लिँदै पक्राउ गरेको थियो ।

१३ साउनमा भोजपुरका तत्कालीन सीडीई लालु गिरीले बैंक खातामार्फत र नगदै गरी १८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरेको थियो । उनले एमके वाईपीजेभीका प्रतिनिधि देवजंग शाहीसँग भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नति योजनाको भुक्तानीका लागि घुस लिएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily