पर्वत- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दू धर्म र संस्कृति संकटमा परेको बताएका छन्।
पर्वतको जलजलामा आइतबार आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले हिन्दू धर्म, संस्कार, संस्कृति र परम्परा जोगाउनलाई सबैजना जुट्न आग्रह गरे।
गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव अवलोकन गर्न आएका देउवाले धर्मको रक्षा र वैदिक गाईको संरक्षणका लागि सञ्चालन गरेको गौमहोत्सवले देशभरका हिन्दुलाई नयाँ आशा जगाएको बताए।
उनले गौशालामा भौतिक पूर्वाधार निर्माण गर्न र यसलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आफूले सरकारसँग माग गर्ने बताए।
काँग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले जलजला, कालाञ्जर र गौशालाको विकासका लागि आयोजना गरिएको महोत्सवले हिन्दू धर्मालम्वीलाई एक ठाउँमा ल्याएको बताए।
उनले हिन्दू धर्मको रक्षा र संरक्षणका लागि एकताबद्ध भएर जुट्न आग्रहसमेत गरे।
प्रतिक्रिया