काठमाडौं- भारत चण्डीगढमा २९ वर्षदेखि कार्यरत दाङका भीमबहादुर नेपालीलाई घर सम्झिँदा अहिल्यै जाऊँजाऊँ लाग्छ ।
जब घर जान भारत–नेपालको सीमा–नाका पार गर्नुपर्ने सम्झिन्छन्, मन गह्रुँगो भएर आउँछ ।
‘हमेसा बोर्डरमा समस्या भोग्नुपर्छ । बोल्न सक्नेलाई पुलिसले छाडिदिन्छन्, नसक्नेलाई तङ गर्छन् (दुःख दिन्छन्),’ निजी कम्पनीमा सुरक्षा गार्ड रहेका उनले भनेकाे खबर आजको कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन्।
चण्डीगढमै कार्यरत रोल्पाका वीरबहादुर पुनको व्यथा पनि उही हो । ‘सामान खोलेर चेकपोस्टमा देखाउनुपर्छ,’ उनले भने, ‘पैसा दिए छाडिदिन्छन्, नभए दुःख दिन्छन् ।’
उत्तर भारतीय क्षेत्र पन्जाब र हरियाणा दुवै राज्यको राजधानी चण्डीगढमा कार्यरत नेपालीले भोग्ने यसखाले समस्या साझा बनिसकेको छ । काम गर्न आएदेखि नै समस्या भोगे पनि अझै हल नभएको उनीहरूले गुनासो गरे।
नेपालबाट आउने हरेक नेता, मन्त्री, सांसद, राजदूत र कर्मचारीलाई उनीहरू पीडा पोख्छन्, तर समाधान हुँदैन ।
‘समस्या भनिनसक्नु छ,’ रोल्पाकै जनक वलीले सुनाए, ‘राजदूत, मन्त्री आउँदा पनि भन्यौं, विगतमा प्रधानमन्त्री आउँदा पनि सुनायौं तर हल भएन ।’ सीमा–नाका व्यवस्थित नहुँदा आउने–जाने क्रममा भारत र नेपालका प्रहरीबाट दमनमा पर्ने गरेको उनले बताए।
चण्डीगढमै कार्यरत मीना गौतम पटकपटक समस्या सुनाउँदा दिक्क छिन् । ‘धेरैपटक, धेरैलाई सुनाइयो, कतैबाट हल भएन,’ उनले भनिन्, ‘अब त यी समस्या उठाउन पनि खल्लो लाग्छ।’
प्रदेश राजधानी कस्तो हुनुपर्छ भनेर चण्डीगढ अध्ययन गर्न आएका प्रदेश ५ का सांसद दीपेन्द्र पुन मगरले भारतबाट जाने रेमिट्यान्सले मुलुकलाई योगदान गरे पनि यहाँ कार्यरत नेपालीको समस्यामा सरकारको ध्यान नपुगेको बताए ।
प्रतिक्रिया