गोरखा- शहिद लखन थापा गाउँपालिका गोरखाले आर्थिक वर्ष ०७६।०७७ को नीति तथा कार्यक्रम अन्र्तगत गोरखामा रहेको मानव सेवा आश्रम र गोरखा रेडक्रसका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
मानवसेवा आश्रममा आज भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापा मगरले गाउँपालिका परिषदबाट स्वीकृत भएको उपकारी कार्यमा संलग्न संस्थाहरुका लागि सानो सहयोग गरिएको बताए ।
मानव सेवा आश्रमका लागि रु एकलाख र रेडक्रस गोरखाले सञ्चालनमा ल्याउन लागेको रक्त सञ्चार केन्द्र सञ्चालनका लागि रु दुई लाखको छुट्टाछुट्टै चेक कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
गोरखा जिल्लालाई माघ ४ गते सडक मानव रहित जिल्ला घोषणा गर्ने तयारी भईरहेको छ । जिल्लामा सडक जीवन विताउन बाध्य भएका नागरिकहरु, बालबालिकाहरुलाई मानवसेवा आश्रम मार्फत सेवा प्रदान भईरहेको छ ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाले सञ्चालनमा ल्याउन लागेको रक्त सञ्चार केन्द्रको व्यवस्थापनका लागि गाउँपालिकाले उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।
रेडक्रसले रक्त सञ्चार सेवा र विपदका समय पीडित समुदायका लागि काम गर्दै आईरहेको छ ।
प्रतिक्रिया