काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएकाे चार वर्षा पूरा भएकाे छ।
प्राधिकरणले चार वर्षमा २०७२ सालको भूकम्पबाट सबैभन्दा बढी क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवनहरु र सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा औषतमा ८३ प्रतिशत प्रगति भएको बताएको छ।
स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले ६ वटा क्षेत्रमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको र १४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जानकारी दिएको हो।
भूकम्पबाट क्षति भएका संरचनालाई अहिले सुरक्षित र आकर्षक रुपमा पुनर्निर्माण सम्पन्न भएका र हुँदै गरेका संरचनाले प्रतिस्थापन गर्दै गरेको प्राधिकरणको भनाइ छ।
‘निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका कुल ७ लाख ८० हजार १ सय ६५ लाभग्राहीमध्ये हालसम्म ४ लाख ८२ हजार ३ सय २३ घरको पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए।
उनका अनुसार जुन अनुदान सम्झौता गरेका उल्लेखित लाभग्राहीको ६२ प्रतिशत हो । उनले भने, ‘१ लाख ८९ हजार ४१ वटा घर बन्दैछन्, यो २४ प्रतिशत हो। निजी आवास सम्बन्धी करिव चार लाख गुनासो सुनुवाइ गरेका छौं।’
कूल क्षतिग्रस्त ७ हजार ५ सय ५३ विद्यालय मध्ये ५ हजार ३ सय ८० अर्थात ७१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको ज्ञवालीले बताए। १७ सय ८७ विद्यालयको पुनर्निर्माण भइरहेको र जसलाई विद्यालयको भौतिक संरचना सुधारमा अभूतपूर्व उपलब्धीका रुपमा लिन सकिने उनकाे भनाइ छ।
त्यस्तै ३२ जिल्लाका ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ वटा सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको उनले बताए। १ सय २३ वटा सम्पदा पुनर्निर्माणको क्रममा छन्। प्राधिकरणका अनुसार कूल ११ सय ९७ वटा मध्ये ६ सय ६५ स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण सकिएको छ र १ सय ४९ वटा बन्दैछन्।
पूर्ण र आंशिक रुपमा क्षति भएका कूल ४ सय १५ सरकारी भवन मध्ये ३ सय ५९ वटा सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको र ४९ वटाको काम जारी रहेकाे ज्ञवालीले बताए। उनका अनुसार सुरक्षा निकायका १ सय ८३ वटा संरचनाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३२ वटा बन्दैछन्।
भूकम्पपछि असुरिक्षत स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाभग्राहीलाई सुरक्षित बस्तीका लागि जग्गा खरिद तथा व्यवस्थापनको व्यवस्था मिलाइएको र ८ हजार ७ सय ४४ भूमिहीन तथा सुकुम्बासीलाई जग्गा खरिद/व्यवस्थापन गरिएको उनले बताए।
उनका अनुसार ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृति भइसकेको र त्यसमध्ये २२ वटाको काम सुरु भएको छ भने तीनवटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ।
पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ कि.मी. सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ कि.मी. सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३ सय १९ कि.मी. सडकको पुनर्निर्माण भइरहेको उनले जानकारी दिए।
त्यस्तै यसबीचमा खानेपानी विभागमार्फत ७ सय ९१ वटा खानेपानी योजनाहरु सम्पन्न भएका छन् भने ६ सय ७० वटा योजनाहरु कार्यान्वयन भइरहेका उनले बताए।
‘स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तूपा, पाटनको कृष्ण मन्दिर, हनुमान ढोकाको गद्दि बैठक, साँखुको बज्रयोगिनी, प्रसुति गृह, वीर अस्पताल, नेपाली सेनाको जंङ्गीअड्डा लगायतको पुनर्निर्माण सम्पन्न भइसकेको छ।
धरहरा, रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरबार, नुवाकोट दरबार, सिंहदरबार (उत्तर, पूर्व, दक्षिण र पश्चिम भाग), दरबार हाइस्कूल जस्ता मुख्य संरचनाहरुको पुनर्निर्माण भइरहेको छ।’ उनले भने, ‘गुम्बा पुनर्निर्माणका कार्यहरु अघि बढाइएको छ। पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ गरी ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको छ।’
प्रतिक्रिया