+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा भवितव्यले बनेको ढुंगा होइन, कसैले प्वाल पार्न सक्दैनः प्रधानमन्त्री अ‍ोली

4KNationalDaily
२०७६ पुष १२, शनिबार १७:०५ बजे

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले एमाले र माओवादी केन्द्रको एकता देखावटी नभएको बताएका छन् ।

शनिबार प्रेस संगठनका केन्द्रीय सदस्यहरुको सपथग्रहणका लागि बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री अ‍ोलीले दुई पार्टी मिलेर बनेको नेकपालाई कल्पवृक्षसँग तुलना गरे ।

‘यो एकता एउटा वृक्ष हो । स्थापना कालमा पार्टी एउटै थियो । बीचमा हांगाबिंगा आयो’, ओलीले भने, ‘नेकपा भवितव्यले बनेको ढुंगा होइन, ७० वर्ष खियाएर बनेको ढुंगा हो । कसैले प्वाल पार्न खोजेर सक्दैन ।’ सरकारले गरेका राम्रा कामको प्रचार नगरिएको भन्दै असन्तुष्टि जनाए

प्रधानमन्त्री ओलीले पार्टीभित्रै पनि सरकारले गरेका राम्रा काम नदेख्ने प्रवृत्ति रहेको भन्दै आक्रोश पोखे । सरकारको कामको मूल्याङ्कन भिडले गर्ने र भिडले नै छानबिन र फैसला गरिरहेको उनको भनाइ थियो ।

‘भिडले मूल्याङ्कन गर्ने र भिडले नै छानबिन र फैसला गर्ने काम भइरहेको छ’, ओलीले भने, ‘नेकपाका सबै नेता कार्यकर्ताले बुझ्नुपर्छ यसमा स्वार्थ जोडिएको छ ।’

ओलीले नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलप्रति पनि कटाक्ष गरे । राजपासँग राष्ट्रियसभा निर्वाचनका लागि गरिएको सहमतिको विरोध नगर्न उनले चेतावनी दिए ।

रावलले स्थायी समिति बैठककै उक्त सहमतिप्रति आपत्ति जनाउँदै कविता लेखेका थिए । राजपालाई राष्ट्रिय सभामा एक सिट दिएर नेकपाले दुई सिट लिने निर्णय कसरी गलत भयो भन्दै उनले प्रतिप्रश्न गरे ।

‘सरकारको राम्रो कामको समर्थन गर्न नसक्नेहरु कवि बनेर निस्किएका छन्’, ओलीले भने, ‘एक सिट अरुलाई दिएर दुई सिट पार्टीले लिने निर्णय कसरी गलत भयो र कविहरु जन्मिएका होलान् ?’

ट्रष्टको जग्गा छानबिन हुन्छ

ओलीले नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताएका छन् ।

‘कुन जमानामा सगरमाथा आरक्षको जग्गा लिजमा दिएको हो, कालीमाटीलाई लिजमा दिइयो, चुनाव हारिसकेपछि अल्पमतमा परेको सरकारका बेला बदमासी भएको छ,’ प्रधानमन्त्रीले थपे, ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो, तर अहिलेको सरकार कमिशनखोर होइन, जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ ।’

पहिले हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा लिजमा लगाइएको ओलीले दाबी गरे ।

‘अहिले स्वतन्त्र विज्ञको सुझावका आधारमा सो जग्गा लिजमा दिइएको हो, पहिले नै नदिए उसले चलाउन सक्दैन,’ओलीले भने,‘अवधि बाँकी रहँदै बन्द नहोस् भनेर लिजमा दिइएको हो, त्यसैले समय हुँदै लिज दिइएको हो ।’

आफूहरूले समुद्रमा जहाज चल्छ भन्दा पनि उडाइएको र विरोधीहरूलाई त अझै नदीमा स्टिमर चल्छ भन्नेसमेत थाहा नभएको ओलीले बताए ।

‘एकाथरीले कागजको पानीजहाज बनाए, अर्काथरीले पानी जहाज नै बनाएका छन्, मजाक गर्नेहरु अब आश्चर्यचकित हुनेछन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily