गोरखा– गोरखा नगरपालिकाको नि:शुल्क औषधि खरिद प्रक्रियामा अनियमितता भएको पाइएको छ ।
नगरपालिकाले हरेक वर्ष ठेक्का मार्फत खरिद गर्दै आएको निशुल्क औषधि खरिदमा कर्मचारीकै मिलिमतोमा ठेक्का सेटिङ्गमार्फत आनियमितता भएको पाइएको हो ।
जनताको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा नगरपालिका प्रशासनले चरम लापरवाही मार्फत औषधि खरिद गरेको प्रमाण गण्डकी टाईम्सडटकमले फेला पारेको छ ।
सार्वजनीक सुचना प्रकाशन गर्नुपर्ने नियमलाई छल्दै कर्मकाण्डीको लागि मात्र ‘व्याक डेट’मा सुचना प्रकाशित गरि ठेक्का सल्लाहमा मिलाइएको प्रमाण फेला परको हो ।
गत आर्थिक वर्ष २०७५/७६ को नि:शुल्क औषधि खरिदमा ठेकेदारसंगको मिलिमतोमा नगरपालिको स्वास्थ्य शाखाले काठमाडौँबाट प्रकाशित हुने प्रभाव दैनिकमा लुकाएर सुचना प्रकाशित गरेको पाइएको छ ।
उक्त पत्रिकाको २०७५ फागुन १४ गतेको अंकमा प्रकाशित नगरपालिकाको सुचना बजारमा जाने पत्रिकामा भने देखिदैन । एकै दिनको दुई फरक-फरक अंक प्रकाशित गरि एउटामा नगरपालिकाको सुचना प्रकाशित गरिएको छ भने त्यही दिनको अर्को पत्रिकामा सूचना देख्ने सकिदैन ।
हेर्नुस, प्रभाव दैनिकमा एकै दिन प्रकाशित नगरपालिकाको सूचना भएको र नभएको पत्रिकाको कटिङ्ग :
सूचना भएको :
सूचना नभएको :
लागत अनुमान १९ लाख ९५ हजार गरिएको उक्त ठेक्का १९ लाख ६४ हजारमा ठेक्का सम्झौता गरि नगरपालिकाले भुक्तानी समेत गरिसकिएको छ ।
श्रोतका अनुसार यो ठेक्का पुर्णरुपमा स्वास्थ्य शाखाका कर्मचारी र ठेकेदारको मिलिमतो बिना सम्भव हुदैन । पत्रिकामा लुकाएर सूचना निकाल्ने काम कर्मचारीको मिलिमतोबिना सम्भवनै नहुने श्रोतको दावी छ ।
प्रमाणित भए कारवाही गर्छु : मेयर पन्त
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले नगरपालिकाका कर्मचारीले वदमासी गरेको भए कारवाही गर्ने बताएका छन् । ‘के भएको रहेछ म बुझ्छु, गल्ति गरेको भेटिए कारवाही हुन्छ‘, मेयर पन्तले गण्डकी टाईम्सडटकमसंग भने।
यसपटक पनि गरिएन ई-टेण्डर
नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि पनि नि:शुल्क औषधि खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सुचना मङ्सिर २६ गते प्रकाशित गरेको छ । नगरपालिकाले यस वर्षको लागि निशुल्क औषधि खरिदमा करिव ४८ लाखको टेण्डर आव्हान गरेको हो।
टेण्डर प्रक्रियालाई पारदर्शी बनाउन ई-टेण्डर गर्न सकिने व्यवस्था हुदाहुदै नगरपालिकाले त्यता तिर ध्यान नदिनुको पछाडी गडबडी रहेको श्रोतले बताएको छ ।
ई-टेण्डर किन नगरिएको भन्ने गण्डकी टाइम्सको प्रश्नमा नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत कृष्ण कुमारी श्रेष्ठले प्राविधिक तयारि नपुगेर ई-टेण्डर गर्न नसकिएको जानकारी दिईन् ।
गोरखा नगरपालिकाको ठेक्कामा केही जनप्रतिनिधि समेत लाग्ने गरेको श्रोतले नाम उल्लेख नगर्ने शर्तमा गण्डकी टाइम्सलाई बतायो। यो मेरो क्षेत्र हो भन्दै केहि जनप्रतिनिधिले नगरपालिकाको ठेक्काको फारम किन्न पनि अबरुद्ध गर्ने गरको श्रोतले जानकारी दिएको छ।
केहि मान्छेहरु अहिले पनि टेण्डर कब्जा गर्न लागिपरको श्रोतले बताएको छ। श्रोतका अनुसार केहि मान्छे मलाई फालानोले पठाएको हो यहाँ कसैलाई छिर्न दीइदैन भन्दै बिगत तीन दिनदेखि नगरपालीका वरपर अड्डानै जमाएर बसेका छन् ।
स्मरण रहोस्, अघिल्लो महिना गोरखा अस्पतालको टेन्डर फारम खरिदममा अबरोध हुदा टेन्डरनै बदर भएको थियो।
प्रतिक्रिया