+
Search

ताजा अपडेट +

पपुलर +

‘साइबर बुलिङ’ निरुत्साहित गर्न सूचना प्रविधि विधेयक : सञ्चारमन्त्री बाँस्कोटा

4KNationalDaily
२०७६ पुष १३, आईतवार १९:२२ बजे

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘साइबर बुलिङ’निरुत्साहित गर्न सूचना प्रविधि विधेयक ल्याइएको बताएका छन्।

संसदको विकास तथा प्रविधि समितिमा बोल्दै मन्त्री बाँस्कोटाले ‘साइबर बुलिङ’निरुत्साहित पार्नकै लागि विधेयक ल्याइएको बताएका हुन्।

‘साइबर बुलिङ निरुत्साहित पार्न खोजेकै हो। यसमा लुकाउनुपर्ने, भाग्नुपर्ने छैन। यदि यो ठाउँमा अर्को सरकार भएको भए उसले के गर्थ्यो त? साइबर बुलिङ भइरहनुपर्छ भन्ने खालको मागलाई छुट दिन्थ्यो त?,’ बाँस्कोटाले प्रश्न गरे।

पछिल्लो समय बैंक ह्याकिङ, विदेशी नागरिकलाई नेपालमै बसेर ठग्ने जस्ता साइबर अपराधका घटनाहरु अपराधहरुलाई निरुत्साहन गर्न विधेयक आवश्यक भएको उनले बताए।

बाँस्कोटाले सामाजिक सञ्जाल दर्ता गराउने भन्ने सन्दर्भमा अझै पनि कतिपय भ्रम रहेकाले त्यसबाट मुक्त हुनुपर्ने धारणा राखे।

‘हरेक सामाजिक सञ्जाल प्रयोगकर्ताले दर्ता गर्नुपर्छ भन्ने प्रावधान छैन। सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरु दर्ता हुनुपर्ने भन्ने हो,’ उनले भने।

बाँस्कोटाले फेसबुक विश्वका ३५ देश र गुगल ४० देशमा दर्ता भएको उदाहरण दिँदै फेसबुकले २०१८ मा अमेरिकालाई २ अर्ब डलर भन्दा बढी र अन्य मुलुकमा ९७ करोड डलरभन्दा बढी कर तिरेको दाबी गरे। त्यसैगरी गुगलले अमेरिकामा सोही वर्ष ३ अर्ब बढी कर तिरेको उनको भनाइ थियो।

फेसबुकका माध्यमबाट कुल राष्ट्रिय विज्ञापनको १० प्रतिशत रकम बाहिर गएको र त्यसलाई करको दायरामा ल्याउन पनि दर्ता हुनुपर्ने प्रावधान अनिवार्य भएको उनले बताए। समितिले विधेयक नेपाली कांग्रेसको असहमतिका बीच आइतबार पारित गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily