काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर अङ्कित गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।
शुक्रबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले यही पुस २६‚ २७ र २८ गते देशभरका सबै जिल्लामा पृथ्वी जयन्तीका कार्यक्रम आयोजना गर्ने‚ उक्त दिन कवि गोष्ठी‚ रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्ने र त्यस दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णय गरेको छ।
राप्रपाले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस आगामी पुस २६, २७ र २८ गते ३ दिन विविध कार्यक्रमको आयोजना गरी भब्य रुपले मनाउने भएको छ ।
यसैगरी ७७ वटै जिल्लामा जिल्ला कार्य समितिको आयोजनामा विविध कार्यक्रमको आयोजना गरिने राप्रपाले जनाएको छ ।
राप्रपाका अनुसार, पुस २७ गते चियापान कार्यक्रमको आयोजना गरिनेछ । सो कार्यक्रममा सहभागिताका लागि दश हजार निमन्त्रणा कार्ड वितरण गरिने राप्रपाले जनाएको छ ।
सोही दिन पार्टीको कला साहित्य विभागले कवि गोष्ठी, ट्रेड युनियन महासंघले रक्तदान कार्यक्रमको आयोजना गर्नेछन भने २८ गते सम्पूर्ण भातृ संगठनको संयुक्त आयोजनामा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्न प्रवचन गोष्ठीको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी राप्रपाले २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस राष्ट्रिय पर्वका रुपमा मनाउन, विविध कार्यक्रमको आयोजना गर्न तथा सो दिन सार्वजनिक बिदा दिन तथा नेपाली नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न सरकारसंग माग पनि गरेको छ ।
प्रतिक्रिया