+
Search

ताजा अपडेट +

पपुलर +

सिंहदरबारबाटै आइजिपी खनालले जब सर्लाहीका एसपीलाई फोन लगाए…

4KNationalDaily
२०७६ पुष २४, बिहीबार ०७:५४ बजे

काठमाडौं- लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् ।

सर्लाही बरहथवा-१० सीतापुरका रायको ठगीधन्दाबारे बुधबार समाचार प्रकाशित भएको थियो।

आफ्ना कर्तुत सार्वजनिक भएपछि भेष बदलेर भाग्दै गरेको अवस्थामा यादवलाई बुधबार दिउँसो साढे १२ बजे प्रहरीले सर्लाहीको हरिपुरबाट पक्राउ गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

सहयोगीले चलाएको मोटरसाइकलमा बसेर उनी मलंगवातिरबाट नवलपुरतर्फ आउँदै थिए । कालो मास्क लगाएका उनले सजिलै कसैले नचिनून् भनेर गम्छाले टाउको ढाकेका थिए ।

हरिपुर–१ स्थित मलंगवा सडकखण्डमा प्रहरी एम्बुसमा परेका उनले फुत्किने कोसिस गरेका थिए । प्रहरीले छाड्ने संकेत नदेखाएपछि आफू राष्ट्रिय जनता पार्टीको केन्द्रीय सदस्य भएको भन्दै धम्क्याए ।

केहीबेर प्रहरीसँगको भनाभनमा उनले हातपातको प्रयाससमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक राठौरले बताए । ‘रामबाबु भेष नै बदलेर सहयोगी लिएर भाग्दै गरेको सूचना आएपछि प्रहरीले एम्बुस थापेर पक्राउ गरेको छ,’ डिएसपी राठौरले भने ।

सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले यादवको ठगीधन्दा सञ्चारमाध्यमा आएपछि पक्राउ गर्न सहज भएको बताए ।

‘हामीलाई पीडितहरूको औपचारिकरअनौपचारिक उजुरी आइरहेका थिए । तपाईंहरूले पनि सार्वजनिक गरिदिएपछि पक्रिन सहज भयो,’ एसपी पोखरेलले भने ।

रायलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ । प्रहरीले उनीविरुद्ध अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीका अनुसार रायविरुद्ध बुधबार मात्रै २० भन्दा धेरै लिखित उजुरी परेका छन् ।

मौखिक उजुरी दिनेको संख्या झन् धेरै छ । अधिकांश जाहेरी ठगी मुद्दाअन्तर्गत रहेको एसपी पोखरेलले बताए । ‘अधिकांश उजुरीमा ठगी मुद्दा आकर्षित हुन्छ । अनुसन्धान सुरु भइसकेको छ । उजुरीको सूक्ष्म अध्ययन गरेर कानुनअनुसार मुद्दा चलाउँछौँ,’ पोखरेलले भने ।

आवश्यक कागजात अध्ययनका लागि प्रहरीले रायको घरमा पनि छापा मार्ने तयारी गरेको छ । उनी, उनका परिवार र आफन्तको नाममा रहेको बैंक खातासमेत अध्ययन गर्नेछ । खातामा भएको सम्पूर्ण ट्रान्जेक्सनको गहन अध्ययन गरेर मुद्दा चलाउने प्रहरीले जनाएको छ।

सिंहदरबारलाई पीडितले सुनाए फेहरिस्त

ठिहिर्‍याउने पुसको ठन्डीमा काम्दै काठमाडौं छिरेका सर्लाही र आसपासका ३० पीडितले साहुकारबाट भोगेको अत्याचारको पीडा बुधबार  सिंहदरबारलाई सुनाएका छन् ।

उनीहरूले सकस मान्दै आफ्ना पीडा सरकारी अधिकारीमाझ राख्दा महान्यायाधिवक्ता कार्यालयको चिसो हल केहीबेर गर्मायो । पीडितलाई सुन्न हलमा थिए, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको सरकारी टोली ।

पीडित पंक्तिको अघिल्लो लहरमा थिइन्, सर्लाहीको बागमती नगरपालिका–७ राजघाटकी ६१ वर्षीया शान्ति देवी ।

पीडा पोख्न कुर्सीबाट अनकनाउँदै उठेकी वृद्धा ओठ कमाउँदै मैथिली भाषामा बोलिन्, ‘रामबाबु रायसँग ५५ हजार ऋण लिएका थियौँ, त्यही ऋणको नाममा परिवारको उठीवास मात्रै लगाएन, मेरो श्रीमान्समेत बेपत्ता पार्‍यो ।’

आइजिपी खनालले तत्काल टेबुलमा रहेको फोन उठाए । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वमणि पोखरेललाई फोन लगाए र रामबाबुलाई तुरुन्तै पक्राउ गर्न निर्देशन दिए ।

त्यसको आधा घन्टापछि सर्लाहीबाट एसपी पोखरेलको फोन आयो । खबर थियो– भेष बदलेर भाग्दै गरेका रामबाबु भर्खरै पक्राउ परे । आइजिपी खनालले धन्यवाद दिँदै भने, ‘गुड जब ।’

रौनियारको खोजी तीव्र

सर्लाहीकै अर्का साहुकार सञ्जय रौनियारको पनि प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार उनी भागेर भारत गएका छन् ।

रौनियारसँग भारतीय नागरिकता पनि छ । उनले सर्वसाधारणलाई ऋण दिएर उनीहरूको जग्गा नै हडप्ने गरेका थिए ।

सर्लाही, महोत्तरी, धनुषा, सिराहा, रौतहटलगायतका हजारजनाभन्दा धेरैलाई पाँच अर्बभन्दा बढी ऋण दिएको कागज उनले गराएका छन् । रौनियार गत निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट सर्लाही २ (क) मा उम्मेदवार थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily