काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
नेकपाले उपसभामुखको राजीनामापछि मात्र सभामुख उम्मेदवारको टुंगो लगाउने भएको हो।
उपसभामुख डा तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय सचिवालय बैठकले गरेको पार्टीका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले बताए।
‘रिक्त सभामुखको पदमा नेकपाले उम्मेदवारी दिने र त्यसका लागि उपसभामुखको राजीनामा माग्ने निर्णय भएको छ।
राजीनामा पछि मात्रै सभामुख पदमा उठाइने उम्मेदवारको टुंगो लाग्नेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘उपसभामुखको राजीनामापछि मात्र सभामुखका लागि उम्मेदवारको नामबारे छलफल हुन्छ। यस सभामुख उम्मेदवारको नामबार आजको बैठकमा कुनै छलफल भएन।’
नेकपा सचिवालयले गरको निर्णयबारे उपसभामुख डा तुम्बाहाङ्फेले भने कुनै प्रतिक्रिया दिन चाहिनन्। उनले आइतबार मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने बताएकी छन्।
संविधानको प्रावधान अनुसार सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्था छ।
सभामुखका लागि नेकपाबाट पम्फा भुसाल, सुवासचन्द्र नेम्बाङ, अग्नि सापकोटा, देव गुरुङलगायतले इच्छा प्रकट गरेका थिए।
तर हालसम्म नेकपाले यस विषयमा कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
प्रतिक्रिया