गोरखा- गोरखा निर्वाचन क्षेत्र नं. १ का साँसद हरीराज अधिकारीले अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई बाँदरको घाउको संज्ञा दिएका छन् ।
जिल्लाको भीमसेन थापा गाउँपालिका बोर्लाङ स्थित सरस्वति माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्ताे बताएका हुन ।
‘बाँदरको घाउ जस्तै हल्लैहल्ला भएको छ, यसलाई जति चलायो त्यति फैलदै जान्छ , उनले भने। देशको विकास न्यायिक र न्यायपूर्ण हुनुपर्ने उनले बताए ।
संघीय संसदमा सभामुखको विषयलाई लिएर विभिन्न प्रकारका टिकाटिप्पणी भईरहेका बेला नेकपा संगठन विभागका सदस्य समेत रहेका अधिकारीले भने ‘प्रतिनिधि सभाको सभामुख नेपाल कम्युनिष्ट पार्टीबाट हुन्छ अन्य पार्टीको हुँदैन । सभामुख चयनका लागि उपसभामुखले राजीनामा गर्नुहुन्छ यसलाई ठूलो कुरा बनाईरहनु पर्दैन ।’
स्थानीय तहमा भ्रष्टचार भयो भनेर संघीयता र गणतन्त्रलाई कमजोर बनाउन खोजिएको तर्फ इंगित गर्दै यस्ता षड्यन्त्रहरुलाई पर्दाफास गर्नुपर्ने बताए ।
संघीय राज्य प्रणाली स्थापनासँगै देश र जनताले नयाँ अनुभूति गरेको उनको भनाई छ । निम्न स्तरका ग्रामिण क्षेत्र र त्यहाँका जनताका जनजीवन सहज बन्न नदिन स्थानीय तहमा भ्रष्टचार भयो भनेर कराउन षडयन्त्रकारीहरु लागेको अधिकारीले बताए ।
बुढीगण्डकीको मुअब्जाका कुराहरु टुङ्गिएको बताउँदै नमिलेका कुराहरु मिलाउँदै जाने अधिकारीले स्पष्ट गरेका छन् । राजनीति विन कुनै पनि कुरा अस्तित्वमा नरहने बताउँदै कसैलाई पनि राजनीतिबाट विमुख गराउन नहुने उनको भनाई थियो ।
जीवनपयोगी प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै अव शिक्षामा गरिने लगानीलाई प्राविधिक धारतर्फ जोडबल गरिने उनले बताए ।
सरस्वति माध्यमिक विद्यालय बोर्लाङ पश्चिमाञ्चल विकास क्षेत्रमा उत्कृष्ट विद्यालयको रुपमा रहँदै आएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया