काठमाडौं- गत शनिबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीआईपी) बाहिर एक हूल मानिसको चहलपहल थियो।
कोहीको हातमा फूलको बुके थियो भने कसैको हातमा खादा।
सामान्यतया सुरक्षाको कारण जनाउँदै भीआईपी कक्षबाहिर प्रहरीले सर्वसाधारणलाई जम्मा हुन दिँदैन । तर त्यहाँ आफूलाई गुरु बताउने कालिदास महाराजलाई बिदाइ गर्न उनका अनुयायी भेला भएका थिए।
एकैछिनमा कालिदासका निम्ति भीआईपी कक्षको ढोका खोलियो । कालिदासलाई भित्र लैजान एसएसपी रामकृपाल शाह र केही डीएसपीसमेत खटिएका थिए।
२०७१ साउन ५ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न क–कसले पाउँछन् भनेर स्पष्टमा व्यवस्था छ।
जसअनुसार आफूलाई महाराज बताउने कालिदास भीआईपी कक्ष प्रयोग गर्न पाउने सूचीमा पर्दैनन् । प्राप्त तस्बिरमा कालिदास भीआईपी कक्ष प्रवेश गरेलगत्तै महानगरी प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेल पनि विमानस्थल पुगेको देखिन्छ।
स्रोतका अनुसार डीआईजी पोखरेलले कालिदासको भीआईपी कक्ष प्रयोग गर्न समन्वय गरेकाे खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।
दुई श्रीमती विवाह गरेका र बारम्बार अनेकन विवादमा तानिएका कालिदास गणतन्त्र स्थापनापछिका केही वर्ष गुमनाम थिए । जनआन्दोलनअघिसम्म उनी दरबारनिकट थिए।
उनी आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको निकट बताउँछन् । राजतन्त्र फेरि फर्कन सक्ने बताउँदै उनले पछिल्लो समय बेलाबखत विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिएको देखिन्छ।
ओखलढुंगा घर भएका कालिदास शाहीकालमा हिन्दु राष्ट्र स्थापना गर्ने भन्दै यज्ञ र होम लगाउँदै हिँड्थे । २०६६ सालमा उनले हिन्दु धर्मका विभिन्न खेमाका धर्मभीरुलाई जम्मा पारेर पशुपतिको वनकालीमा सहस्र रुद्रचण्डी अखण्ड महायज्ञ गरेका थिए।
शाहीकालमा उनी दरबारको कति निकट थिए भन्ने उनले आयोजना गर्ने धार्मिक अनुष्ठानमा तत्कालीन राजा ज्ञानेन्द्र र तत्कालीन राजपरिवारका सदस्यको उपस्थितिले बुझाउँछ।
ज्ञानेन्द्रको शासनकालमा उनले राजशत्रु नाश गर्ने भन्दै नागार्जुन दरबारमा एक हजार एक सय किलो खुर्सानीको होम मात्रै गरेनन्, राजाको भाकल पूरा गर्न हेलिकप्टर चढेर कैलाश मानसरोवरसमेत पुगे।
विमानस्थलको सुरक्षा कमान्ड सम्हालिरहेका एसएसपी शाहले विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले भीआईपी कक्ष प्रयोग गर्न अनुमति दिएपछि आफूहरूले सहयोग गर्ने गरेको बताए।
उनले कालिदासको हकमा पनि प्राधिकरणले अनुमति दिएको बताए । कालिदासलाई लिन भीआईपी कक्षमा एसएसपीको उपस्थितिलाई भने उनले नियमित कामको संज्ञा दिए ।
उनले ढोकामा फूलगुच्छा लिएर नबसेको प्रस्ट्याउँदै भने, ‘नियमित घुमिरहेका बेला भीआईपी कक्षमा कोही आउने रैछन् भने नमस्ते, जय नेपाल र ढोगभेट गर्नुपर्ने भए गर्नेमात्रै हो । महाराजले किन र कसरी अनुमति पाए प्राधिकरणलाई सोध्नुस्।’
प्रतिक्रिया